धान खेतको हिलो जमिनले पनि जलवायु परिवर्तन गर्न सघाउ पुर्याउँछ ?
- नेचर खबर
काठमाडौं – भखरै धान रोपाईँ गर्ने सिजन सकिएको छ । केही जिल्लामा त पानी नपरेर यसपटक खेती नै भएन । यस्तो मार अन्य प्रदेशको तुलनामा मधेश प्रदेशले भोग्यो ।
जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा यो समस्या आएको विज्ञले बताइरहेका छन् । विज्ञले यसो भनिरहँदा एक अध्ययनले भन्छ – ‘हिलो बनाएर धान खेती गर्दा पनि कार्बन उत्सर्जन हुन्छ र यसले जलवायु परिवर्तन गराउनमा सघाउ पु¥याउँछ ।’
आखिर कसरी त ? के अब धान खेती नै नगर्ने ? कि जलवायु परिवर्तन रोक्न भातै नखाने ? यी प्रश्नको जवाफ पनि ती वैज्ञानिकले खोजिरहेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वको आधाभन्दा धेरै जनसंख्याले प्रमुख आहारका रूपमा चामल खाने गर्छन् । तर, यसको खेती गर्ने काम जटिल छ ।
विश्वभर धानबालीलाई सिञ्चित गर्न निकै धेरै पानी चाहिन्छ र जसले गर्दा हिलो जमिनमा रहेका सूक्ष्मजीवहरूले मिथेन ग्यास उत्पादन गर्ने अवस्था सिर्जना हुन्छ । मिथेन ग्यास कार्बन डाईअक्साइडभन्दा बढी खराब हरितगृह ग्यास हो ।
धान उत्पादनले मानव क्रियाकलापले उत्सर्जन गर्न हरितगृह ग्यासमध्ये एकदेखि दुई प्रतिशत हिस्सा ओगट्छ । र, नयाँ बाली लगाउनका लागि पराल जलाउने कामले समेत वायुमण्डलमा कार्बनडाइअक्साइड उत्सर्जन गर्न योगदान पु¥याउँछ ।
संसारभरका अनुसन्धानकर्ताहरूले हिलाम्मे खेत आवश्यक नपर्ने र तापमान वृद्धिमा योगदान नगर्ने धानको जात विकास गर्न लागिपरेका छन् ।
प्रतिक्रिया दिनुहोस