सगरमाथा आधार शिविरमा हिउँको साटो पर्नथाल्यो पानी
- नेचर खबर
काठमाडौं – पहिले अत्याधिक कम वर्षाकै कारण सुख्खा रहने हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा अहिले मुसलधारे वर्षा हुनथालेको छ । मौसममा आएको परिवर्तनसँगै हिमाल नाघेर त्यहाँ पुग्ने पानीयुक्त कुहिरोले अत्याधिक वर्षा गराइरहेका छन् । त्यसैले केही दिन अघि मात्रै कागबेनी बाढीसँगै बग्यो ।
यसरी ताप र हावाको चापमा आएको परिवर्तन सँगै यसको असर वर्षामा बढी देखिन थालेको छ । कम पानी पर्ने स्थानमा अत्याधिक वर्षा भइरहेको छ, वर्षाको दर बढ्दै छ । यसको अर्को उदाहरण हो सगरमाथाको आधार शिविर ।
पछिल्लो एक अध्ययनका अनुसार सगरमाथा आधार शिविरमा हिउँको साटो पानी पर्ने दर बढ्को छ । बीबीसीका अनुसार सगरमाथाको आधार शिविर (५३१५ मिटर) मा स्थापना गरिएको मौसम स्टेशनले सन् २०२३ को जुन १ देखि अगस्ट १० सम्म त्यहाँ २४५.५ मिलिमिटर वर्षा भएकोमा त्यसमध्ये ७५ प्रतिशत ‘प्रिसिपिटेशन’ वर्षाका कारण भएको देखाएको छ । त्यसबाहेक अरू हिउँ वा हिउँ र पानीको मिश्रण थिए ।
यो सन् २०२२ को जुनदेखि सेप्टेम्बरसम्म भएको ३२ प्रतिशत वर्षाको तुलनामा अधिक धेरै हो । सन् २०२१ को सोही चार महिनामा ४३ प्रतिशत वर्षा भएको थियो भने सन् २०२० मा त्यो संख्या ४१ प्रतिशत थियो ।
भारत, भुटान, नेपाल र पाकिस्तानमा फैलिएको हिमालय पर्वत शृंखलाहरूमा निकै कम मौसमसम्बन्धी जानकारी राख्ने केन्द्रहरू छन् जसले गर्दा प्रायः यकिन तथ्यांकको अभाव हुने गरेको छ ।
पर्वतहरूको तल्लो भागमा केही स्टेशनहरू राखिएका छन् तर तिनीहरूले सङ्कलन गरेको प्रिसिपिटेशन भनिने आकाशबाट पानी झर्ने प्रणालीकाबारे प्राप्त जानकारीले त्यो वर्षाको हो वा हिमपातको हो भन्ने छुट्टाउँदैन ।
‘हामीलाई हिमपातको तुलनामा वर्षाको घटना बढी हुने गरी देखिएको परिवर्तन हालसालैको घटनाक्रम हो भन्ने लाग्छ । तर, यसलाई मापन गर्ने लामो अवधिको पूर्ण तथ्यांक छैन,’ न्याशनल जियोग्राफिक तथा रोलेक्स पर्पेचुअल प्लानेट एक्सपिडिशनमा संलग्न बेकर पेरी र टम म्याथ्युजले भने ।
भारतको हिमाली राज्य उत्तराखण्डका हिमालहरूमा वर्षाको प्रवृत्तिमा परिवर्तन भएको त्यहाँको क्षेत्रीय मौसम कार्यालयका प्रमुख विक्रम सिंह बताउँछन् । ‘हामी निश्चित रूपमा भन्न सक्छौँ– हिमपातको दर कम भएको छ र यो सामान्यतया ६,००० मिटर भन्दा कम उचाइमा भइरहेको छ। मनसुनको समयमा तल्लो भेगमा भारी वर्षा हुन्छ,’ उनले भने ।
घट्दो हिमपात र बढ्दो वर्षाको अर्थ उक्त क्षेत्रका नदीहरूको प्रकृति पनि परिवर्तन भएको बताउँछन् कुमाउँ विश्वविद्यालयको भूगोल विभागका पूर्व प्रमुख प्राध्यापक जेएस रावत । ‘अत्यधिक वर्षापछि अहिले धेरै ठाउँमा बाढी आएको छ र कुनै समय यस क्षेत्रमा अवस्थित नदीहरूको स्रोत हिमनदीहरू हुन्थे भने अहिले धेरै जसो वर्षामा आधारित नदीमा परिणत भएका छन् ।’
बढ्दो तापमानले गर्दा हिमालयका हिमनदी पग्लने क्रम तीव्र भएको छ जसले गर्दा हिमतालहरू द्रुत गतिमा भरिन्छन् । त्यसपछि बाढीको जोखिम बढ्छ हुन्छ । हिमनदी पातलो बन्दा पर्वत पनि अस्थिर बनेको छ ।
हिमालय क्षेत्रमा विश्वको औसतभन्दा तीन गुणा बढी तापक्रम वृद्धि हुने अनुमान गरिएको छ र यसका कारण त्यहाँ वर्षामा उल्लेखनीय वृद्धि हुने विभिन्न विभिन्न अध्ययनहरूले देखाएका छन् । –बीबीसीको सहयोगमा
प्रतिक्रिया दिनुहोस