जब ‘हिलरी’ आँधी क्यालिफोर्नियामा बज्रियो…


काठमाडौं – मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएको समुद्री आँधी हिलरी अमेरिकी राज्य क्यालिफोर्नियामा पुगेको छ । उक्त आँधी ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा मेक्सिकोको बाया क्यालिफोर्निया प्रायद्वीपमा बज्रिएको थियो । त्यहाँ नदी तर्न प्रयासरत कारमा सवार एक मानिसले ज्यान गुमाएको भिडियोहरूमा देखिन्छ । उनीसँगै कारमा सवार उनकी श्रीमती र छोराछोरी भने बाँच्न सफल भएको अधिकारीहरूले बताएका छन् ।

सान्ता रोसालिया सहरका कैयौँ घरहरू अहिले डुबानमा परेका छन् । हिलरी नाम दिइएको उक्त आँधी उत्तरतर्फ सर्दै जाँदा कमजोर हुने ठानिएको छ तर यो क्यालिफोर्नियामा ८४ वर्षयताकै पहिलो समुद्री आँधी हो । यसअघि सन् १९३९ मा दक्षिणी क्यालिफोर्नियाको लङ बिचमा यस्तै आँधी आएको थियो ।

विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन् । उक्त आँधी मेक्सिकोको बाया क्यालिफोर्निया प्रायद्वीपको उत्तरी भागमा स्थानीय समयअनुसार आइतवार बिहान ११ बजे बज्रिएको यूएस न्याशनल हरिकेन सेन्टर (एनएचसी) ले जनाएको छ ।

हिलरी आँधीले मेक्सिको र अमेरिकामा ’जनधनको क्षति गर्ने’ बाढी ल्याउन सक्ने चेतावनी दिइएको छ । मेक्सिकोमा यसअघि १८ हजार सैनिकलाई उद्धार कार्यमा खट्न तयारी अवस्थामा राखिएको थियो । बाया क्यालिफोर्निया सुर राज्यको पूर्वी तटमा रहेको सान्ता रोसालियामा मुख्य सडकबाट हिलो पानीका शक्तिशाली धारहरू खसिरहेको देखिने नाटकीय भिडिओहरू सार्वजनिक भएका छन् ।

लङ बीच र पाम स्प्रिङ्ससहित क्यालिफोर्निया भरका बासिन्दाहरूले बाढीको प्रभाव कम गर्न बालुवाको बोराको प्रयोग गरिरहेको देखिन्छ । लङ बीचका बासिन्दा युजेनी एडलरले रोएटर्ससँग भनेकी छन्, ‘बाढीका कारण मानिसहरूले केही सम्पत्ति गुमाउँछन्, त्यो एउटा कुरा हो । तर बाढीका कारण मानिसले ज्यान गुमाउनु त्योभन्दा फरक कुरा हो । मलाई मानिसहरू मर्छन् कि भन्ने डर छ ।’

लस एन्जलसकी मेयर करेन बासले समुद्री आँधीलाई “अभूतपूर्व मौसमी घटना”को सङ्ज्ञा दिएकी छन् । ‘तर डढेलो होस् वा भूकम्प, लस एन्जलससँग हरेक सङ्कटको सामना गर्ने राम्रो अनुभव छ,’ उनले भनिन्, ‘आँधीको सामना गर्न पनि सहर तयार छ ।’

अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा करिब दुई करोड ६० लाख मानिस बाढीको जोखिमको चपेटामा परेका छन् । शनिवार हिलरीको शक्ति कमजोर भएपछि यसलाई श्रेणी १ को आँधीको रूपमा वर्गीकृत गरिएको थियो तर अधिकारीहरूले यससँग सम्बन्धित जोखिमको चेतावनी जारी राखेका थिए ।

एनएचसीका अनुसार यस समुद्री आँधीका कारण सिर्जित हावा यसको केन्द्रबाट ३९० किलोमिटर टाढासम्म फैलिएको थियो । क्यालिफोर्नियाका गभर्नरको आपत्कालीन सेवा कार्यालयका निर्देशक न्यान्सी वार्डले हिलरी एक दशकभन्दा बढी समययताकै सबैभन्दा खराब आँधी हुनसक्ने बताएकी छन् ।

‘कुनै गल्ती नगर्नुहोस्,’ उनले शनिवार आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन् । ‘यो निकै खतरनाक र ठूलो आँधी हो ।’ मेक्सिको, क्यालिफोर्निया र नेभाडाका केही भागमा २५ सेन्टिमिटर सम्म वर्षा को सम्भावना रहेको एनएचसीले जनाएको छ । आइतवार दक्षिणी क्यालिफोर्नियाको मरुभूमिमा वर्षा सुरु भएको थियो ।

कोलोराडो रिभर भ्याली, मोजावे डेजर्ट र इम्पेरिअल भ्यालीका केही भागमा (स्थानीय समयअनुसार) आइतवार साँझसम्म टोर्नेडोको जोखिम रहेको बताइएको छ । आँधीको जोखिम बढेसँगै दक्षिणी क्यालिफोर्नियामा आयोजित मेजर लिग बेसबलका तीन खेलहरूको तालिका पुनः निर्धारित गरिएको छ । त्यस्तै स्पेसएक्सले मध्य क्यालिफोर्निया तटमा रहेको आफ्नो आधारबाट गरिने रकेट प्रक्षेपण कम्तीमा सोमवारसम्मका लागि स्थगित गरेको छ ।

आगन्तुकहरूलाई बाढीको जोखिमबाट बचाउनका लागि क्यालिफोर्नियाका केही राष्ट्रिय निकुञ्ज पनि बन्द गरिएका छन् । चरम मौसमका कारण पछिल्लो केही समययता उत्तरी अमेरिकाभरि विध्वंस मच्चिएको छ । नासाका अनुसार यस वर्षको जुलाई हालसम्मकै गर्मी महिना कायम भयो । लगत्तै अगस्ट ८ देखि अमेरिकी इतिहासकै सबैभन्दा घातक डढेलो त्यहाँको पर्यटकीय राज्य हवाईमा फैलिएको थियो । डढेलोमा परी कम्तीमा १११ जना मानिसको मृत्यु भएको थियो ।

उक्त क्षेत्र हुँदै आँधीबेहरी गएपछि क्षति झनै बढेको थियो । क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा सयौँको सङ्ख्यामा डढेलो लागेको छ जसका कारण घरहरू जलेका छन् र दशौँ हजार मानिसहरूलाई अन्यत्र सर्न बाध्य पारिएको छ । –बीबीसीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics