महोत्तरीमा मुहान रसाएपछि राहत
- नेचर खबर
महोत्तरी - पानीबिना छट्पटाएका यहाँका सर्वसाधारणलाई अब बल्ल राहत मिलेको छ । गत साउन अन्तिम साताको वर्षाले प्रशस्त चिस्यान बनेर भदौ लागेपछि पनि पानी परिरहेपछि पानीका स्रोतका मुहान रसाउँदै आएपछि राहत मिलेको हो ।
अहिले भदौ पहिलो साता बित्दै गर्दा यसअघि सुकेका इनार र चापाकल चल्न थालेका छन् । त्यसैगरी खोल्साखोल्सीका मुहानमा पानी रसाएर बढ्दै गएपछि अब खानेपानीको सङ्कट टर्दै गएको यहाँका सर्वसाधारणको भनाइ छ । “बस्तीका सबै चापाकल र इनार सुकेर खानेपानीको हाहाकार परेको थियो”, भङ्गाहा–४ रामनगरका २५ वर्षीय सद्दाम राइन भन्छन, “अब सबैजसो इनारमा पानी भरिँदै आएको र चापाकल पनि चल्न थालेका छन् ।”
गत साउन तेस्रो सातासम्म पानी नपर्दा आफ्नो बस्तीका एक सय ५० चापाकल र ५० भन्दा बढी इनार सुकेर खानेपानीकै हाहाकार परेको राइनले याद गरे। “अब पानी राम्ररी रसाएको छ, लगातार अडिलो पानी परिरहेको हुँदा प्रशस्त चिस्यान छ, अब यो वर्षलाई खानेपानीकै सङ्कट नपर्ला”, राइनकै छिमेकी रामबाबु महतोले विश्वस्त हुँदै भने ।
गत साउन अन्तिम साताको वर्षाले ठाउँठाउँमा कच्चीघर लडाएर दुःख दिए पनि भदौ लागेपछि मन्द वर्षा भइरहँदा खानेपानीका स्रोतका मुहान रसाएर भरिँदै आएका छन् । भदौ पहिलो साताको वर्षाले रूख बिरुवा, भदैया (भदौरे) तरकारीका बोट÷लहरा र धानकै रोपो पनि लहलहाएको देखिदा सन्तोस लाग्ने गरेको किसान बताउँछन् । पछिल्लो वर्षा उखु, कोदो, हिउँदे तीलसहितका बालीलाई अमृत नै बनेको बर्दिवास नपा–९ पशुपतिनगरका ४० वर्षीय अमृतकुमार महतोको भनाइ छ ।
“पछिल्लो लगातारको वर्षाले इनार, चापाकल र बोरिङसहितका पानीका स्रोतका मुहान राम्ररी रसाएका छन्”, भङ्गाहा–४ थारुटोल वनराका ७० वर्षीय किसान रामधारी सिंह थारू भन्छन, “अहिलेको पानी पराइ मन्दमन्द र अडिलो भएको हुँदा बालीलाई अमृत सरह बनेको छ ।”
यसैगरी जिल्लाको सुदूर उत्तरवर्ती चुरे र यसका शृङ्खलाबाट निस्कने नदी, खोल्साखोल्सी र झोराहरुमा अब पानी रसाउँदै आएका यस भेगका बासिन्दाको भनाइ छ । बर्दिबासका १४ मध्ये १० बस्ती र गौशाला नगरपालिकाका उत्तरवर्ती १० भन्दा बढी बस्तीहरुमा जडित खानेपानीका धाराको स्रोत यिनै नदी, खोल्साखोल्सी र झोरा हुन् ।
लामो खडेरीले यस्ता स्रोतका मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार बढ्दै गएको थियो । साउन अन्तिम साता प्रारम्भसँगै पर्न थालेको पानीले अब मुहानमा राम्ररी पानी रसाएको हुँदा भण्डारण टङ्कीमा पानीको अभाव नहुने बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव उदयबहादुर भण्डारी बताउछन् ।
प्रतिक्रिया दिनुहोस