वन्यजन्तु पालन सहज बनाउँदै सरकार, के पाल्न कति तिर्ने शुल्क ?



काठमाडौं – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमवाली २०३० मा वन्यजन्तुलाई व्यावसायिक रूपमा पालन गर्न सकिने व्यवस्था छ । केही कानुनले भने वन्यजन्तु पाल्नुलाई कानुन विपरित पनि भनेको छ । तर, अब यो जटिलतालाई सरकारले खुकुलो बनाउँदै छ – मापदण्ड तोकेर । सम्भवत एक साताभित्र मापदण्ड स्वीकृत हुन सक्ने बताइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मापदण्डको खाका वन मन्त्रालयका सचिव रेवतीरमण पौडेललाई पेश गरिसकेको छ । सचिव हुँदै अब वनमन्त्री वीरेन्द्रप्रसाद महतोले स्वीकृत गरेपछि वन्यजन्तु पालन तथा व्यवसाय सञ्चालनका लागि बाटो खुल्ने छ ।

वन्यजन्तु पालनमा निजी क्षेत्रको पनि संलग्नतालाई मान्यता दिने गरी मापदण्ड तयार पारिएको विभागको तर्क छ । यसले मान्यता पाए वन्यजन्तुको संरक्षण हुने र पर्यटनसँगै आर्थिक समृद्धिमा पनि सहयोग पुग्ने बताउँछन् विभागका प्रवक्ता अजय कार्की । भन्छन्, ‘हामीले यो नियमलाई व्यवस्थित बनाउन खोजेका छौं । यसले वन्यजन्तुको संरक्षण त हुन्छ नै, यसले मुलुकको पर्यटन र आर्थिक विकासमा पनि सघाउ पुर्‍याउँनेछ ।’

यता व्यावसायिक रूपमा वन्यजन्तु पाल्न पाइने भएपछि अवैध चोरीशिकारी बढ्न सक्ने भन्दै आलोचना पनि भइरहेको छ । तर, प्रवक्ता कार्की चोरीशिकारी रोक्ने र व्यवस्थित रूपमा पाल्न दिने गरीको नीति तयार भएको बताउँछन् । ‘हामीले तयार पारेको खाका यी सबै कुरालाई ध्यानमा राखेर बनाइएको छ । तस्करी रोक्न हामी सक्षम हुनेछौं ।’

प्रवक्ता कार्की अनुमगनमा कडाइ गरेर चोरीशिकारी रोक्दै यो नियमावलीको सदुपयोग गरिने दाबी गर्छन् । ‘जंगलमा वन्यजन्तुको संख्या बढी हुँदा बासस्थानमा समस्या पनि भएको छ । यसको न्यूनीकरणका लागि पनि वन्यजन्तुको व्यावसायीकरण गर्न जरुरी छ । यो सुरु भएपछि अनुगमनलाई प्रभावकारी बनाउनेछौं,’ उनले भने ।



उनले वन्यजन्तुको संरक्षण, संवद्र्धन र सदुपयोग गरी आयआर्जन गर्दै रोजगारीका अवसर वृद्धि हुने भएकाले पालन व्यवसायलाई अगाडि बढाउन लागिएको दाबी गरे । ‘मापदण्ड लागु भएपछि वन्यजन्तु पालन, प्रजनन् तथा अनुसन्धान कार्यनीति २०६० खारेजी हुनेछ । वन्यजन्तु पालन र अनुसन्धान कार्यमा समूह, व्यक्ति एवं संस्थालाई अभिप्रेरित गरिने छ,’ उनले भने, ‘दुर्लभ वन्यजन्तु लगभग सीमित वन क्षेत्रमा मात्र हुने र लोप हुन सक्ने स्थितिमा देखिन्छन् । जनसंख्याको चाप बढिरहेकाले व्यवस्थापन गर्न पनि व्यवसायीकरण गर्न लागिएको हो ।’

मापदण्डमा मन्त्रीको तोक लागेसँगै  जरायो, चित्तल, लगुना, रतुवा, नीलगाई र घोड गधा, खरायो, दुम्सी, बँदेल, सरिसर्प (अजिंगर बाहेक), मयुर, कालिज, मैना, सुगा, कछुवालगायत वन्यजन्तु व्यावसायिक रूपमै पालन गर्न पाइने छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमवाली २०३० को आधारमा मापदण्ड तयार गरिएको प्रवक्ता कार्कीको भनाई छ ।

वन्यजन्तु पाल्न तथा प्रजनन् गराउन अनुमति लिनु पर्ने र त्यसका लागि शुल्क पनि तिर्नु पर्ने नियमावलीमा उल्लेख छ । इच्छुक व्यक्तिलाई निश्चित शुल्क लिएर बिउ प्राणीसमेत उपलब्ध गराइने छ । प्राकृतिक बासस्थानबाट संकलन गरिएका वा बीउ प्राणीको रूपमा उपलब्ध गराइएका वन्यजन्तु विदेश निकासी पनि गर्न पाइने बताइएको छ ।

के पाल्न कति लाग्छ ?

नीलगाई र घोडगधा ६० हजार

जरायो ६० हजार

चित्तल ५० हजार

लगुना ५० हजार

रतुवा ४० हजार

खरायो १ हजार

दुम्सी २ हजार

बँदेल १ हजार

सरिसर्प ५ हजार

कछुवा १ हजार

मयुर ५ हजार

कालिज २५ सय

स्रोतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics