के यो बर्खामा पानी बढी परेको हो ? अनि, कति भयो क्षति ?



काठमाडौं – वर्षा सुरु हुुनु अघि सम्म मौसमविद्हरूले भन्थे, ‘यो वर्ष बर्खायाममा सरदरभन्दा कम पानी पर्छ ।’ यो उनीहरूको झन्डै चार महिनाअघिको भनाई हो । तर, भएन त्यस्तो ।

मौसमविद्को भनाई सुनेर मनसुन नै सुक्खा हुन्छ कि भन्ने डर धेरैलाई थियो । तर, मनसुन सुरु हुनसाथ विभिन्न ठाउँमा झरेको पहिरो र आएको बाढीले पूर्वी नेपालमा ठूलो धन जनको क्षति भयो । जेठको अन्तिम साता नै नेपालमा मनसुन भित्रियो । त्यसयता पटकपटक झरी परिरहेको छ ।

नदीनजिक बसोबास गर्ने बासिन्दालाई बारम्बार मोबाइल वा इन्टरनेटबाट सम्भावित भेलबाढीबारे सूचना दिन सन्देश आइरहे । त्यसका अतिरिक्त विभिन्न स्थानमा बाढी र पहिरोले धनजनको क्षति भएको छ । बर्खाका कारण हवाई र सडक यात्रादेखि कृषि गतिविधि पनि प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले मनसुनमा नेपालभरि कम पानी पर्ने प्रक्षेपण गर्दा यसपालि बर्खायाममा न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान थियो । तर, सरदरमा रह्यो । अब जिज्ञासा हुन्छ जनजीवन नै प्रभावित पार्ने यो झरी मौसमविद्हरूले भनेझैँ सरदरभन्दा बढी हो कि घटी त ?

नेपालमा मनसुन मध्यजुनमा (जेठ अन्तिमतिर) प्रवेश गरेर अक्टोबरको पहिलो साता (मध्यअसोज) तिर बाहिरिन्छ । यस अवधिमा सरदर १,४७२ मिलिमिटर वर्षा हुने गरेको तथ्यांकले देखाउँछ । त्योभन्दा १० प्रतिशत बढी वा घटी वर्षा हुनुलाई औसत मानिन्छ ।

बीबीसीका अनुसार तोकिएभन्दा १० प्रतिशतभन्दा कम पानी प¥यो भने त्यसलाई ‘ड्राई’ अर्थात् ‘सुक्खा’ मनसुन भन्न सकिने मौसमविद् राजु प्रधानांग बताउँछन् । यस वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म कुल ९९७ मिलिमिटर वर्षा भएको छ । उनका अनुसार मनसुन अझै दुई महिना कायम रहने भएकाले तत्काल ‘यो वर्षको बर्खायाम सुक्खा रह्यो या रहेन’ भन्न मिल्दैन ।

‘अक्टोबर २ (असोज १५) सम्म मनसुन रहन्छ । त्यति बेलासम्म पर्ने पानीलाई विश्लेषण गरेपछि मात्र हामी निष्कर्षमा पुग्न सक्छौं,’ उनले भने । यद्यपि विगतका वर्षहरूको तथ्यांक तुलना गर्दा यस वर्ष जुलाई र अगस्टभरि जति पानी पर्नुपर्ने हो त्यति नपरेको जानकारी उनले दिए ।

मौसममा यस किसिमको परिवर्तन नेपालमा मात्र देखा परेको होइन । युरोपका विभिन्न देशमा उष्णलहर, अमेरिका तथा क्यानडाको विभिन्न क्षेत्रमा डढेलो, चिसा ठाउँहरूमा चरम गर्मीको समस्या उत्पन्न भएको छ । तिनको विश्लेषण गरेका विज्ञहरूले यसलाई जलवायु परिवर्तनको प्रभाव मानेका छन् ।



डेढ साताअघि हिमालीपारि अवस्थित मुस्ताङ जिल्लाको कागबेनीमा आएको बाढीलाई पनि जलवायु परिवर्तनसँग हेर्न सकिने मौसमविद् प्रधानांगको धारणा छ । ‘मनसुनमा झरी पर्नु स्वाभाविक हो । तर मुस्ताङको बाढी नियमित बर्खामात्र नभई जलवायु परिवर्तनसँग सम्बन्धित छ । बढ्दो तापमानका कारण वायुमण्डलमा आर्द्रता थेग्ने क्षमता बढी हुन्छ । त्यस्तो अवस्थामा वर्षा भयो भने पानीको मात्रा पनि अधिक हुन्छ,’ उनले भने ।

चरणबद्ध नियमित पानी परिरहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि जोड दिइरहेको अधिकारीहरूले बताएका छन् । अहिले नेपालका विभिन्न स्थानमा केही दिनदेखि निरन्तर पानी परिरहेको छ । दिनमा घाम लागे पनि रातमा पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखाका कारण त्यसो भएको हो । उक्त रेखा आफ्नो स्वाभाविक स्थानभन्दा उत्तरतिर छ । मौसमविद्हरूका अनुसार भारतको उत्तर प्रदेशको पश्चिमोत्तर क्षेत्रमा अवस्थित न्यून चापीय प्रणाली पनि नेपालतर्फ सर्दै आइरहेको छ । ‘यस्तो प्रणाली नेपालनजिकै आउँदा मौसम बदली हुन्छ र पानी पर्छ । यो अवस्था केही स्थानमा शुक्रवारसम्म रहने र मध्य तथा पूर्वी भूभागमा शनिवार दिउँसोसम्म रहेर कम हुँदै जाने देखिन्छ,’ प्रधानांगले भने ।

कुनै पनि बाह्य प्रणाली कम हुनुको अर्थ पानी नै नपर्ने भन्ने चाहिँ होइन । बरु अहिलेको चरणमा देखिएको बदली र वर्षा कम हुने विज्ञहरू बताउँछन् । यो शृङ्खला अक्टोबर पहिलो सातासम्म जारी रहन्छ । ‘मनसुनभरि बारम्बार चरणबद्ध रूपमा पानी पर्छ र यो क्रम अहिले नै रोकिँदैन,’ उनले भने ।

बर्खाको पानी जलविद्युत् र कृषिका लागि महत्त्वपूर्ण हुन्छ । त्यसैले पानीसँग डराउनुको साटो सतर्क रहनुपर्ने धारणा अर्की मौसमविद् इन्दिरा कँडेलको छ । विशेषगरी ‘भारी वर्षा’को सम्भावना भएको स्थान र जलस्रोत निकट समुदायका मानिसहरूले यस पाटोमा ध्यान दिनुपर्ने उनी बताउँछिन् । ‘हामीकहाँ वर्षाबाट हुने प्राकृतिक विपद्को जोखिम धेरै छ । त्यसले पु¥याउने क्षति रोक्नका लागि सर्वसाधारण मानिसको तहबाटै सतर्क नरही हुँदैन,’ उनले भनिन् ।

उनका अनुसार प्राकृतिक प्रकोप रोक्न नसकिए पनि क्षति कम गर्न मौसम पूर्वानुमानले उल्लेख्य सहयोग पु¥याउँछ । त्यसैले सम्बन्धित निकायले मोबाइल फोनमा पठाएको चेतावनी वा कुनै पनि किसिमको सूचनालाई गम्भीरतापूर्वक लिनुपर्ने उनी बताउँछिन् ।

“प्रविधिको विकासले मौसम पूर्वानुमानको क्षेत्रमा ठूलो फड्को मारिसकेको छ । यसले विपद्को प्रभाव कम गर्न मद्दत पु¥याएको छ । त्यसैले पूर्वानुमान र चेतावनीलाई मान्नुप¥यो । कुनै ठाउँमा नबस्न निर्देशन दिइएको छ भन्ने बस्नु भएन, कहीँबाट सर्न भनिएको छ भने सर्नुप¥यो,” कँडेल भन्छिन् । पूर्वानुमान शत प्रतिशत मिल्छ भन्ने हुँदैन । तैपनि मौसम र विपद्सम्बन्धी अद्यावधिक सूचना लिनु अपरिहार्य भएको उनी औँल्याँछिन् ।



कति भयो क्षति ?
मनसुनका कारण नेपालमा बाढी, पहिरो र ठूलो वर्षाले विपद् निम्त्याउने गर्छन् । राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार विगत एक महिनामा ठूलो वर्षाका कारण ८३, पहिरोका कारण १२४ र बाढीका कारण ३,४२४ वटा परिवार प्रभावित भएका छन् ।

सोही अवधिमा पहिरोका कारण १८ जना र बाढीका कारण चार जनाले ज्यान गुमाएको तथ्याङ्क छ । यस्ता क्षतिहरू कम गर्न सरकारले सतर्कता कार्यक्रम र पूर्वसूचना प्रणालीलाई दुरुस्त राख्नमा जोड दिएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का बताउँछन् ।

नेपालमा झन्डै १०० दिन मनसुन सक्रिय हुन्छ । “स्मार्ट साइरनसहितको सूचना प्रणालीका कारण धेरै ठाउँका मानिसलाई सुरक्षित स्थानमा सरेका छन् र विपद्बाट जोगिएका छन्,” उनी भन्छन् ।

यद्यपि मानिसहरूले जोखिमयुक्त ठाउँ नछोड्दा वा नियमअनुरूप भवनहरू निर्माण नगर्दा क्षति न्यूनीकरण गर्न गाह्रो भएको उनले बताए । ‘सरकारको आग्रह नमान्दा सर्वसाधारण जनता प्रभावित भएका छन् । यसबारे अनुगमन गर्ने स्थानीय निकायहरूमा क्षमता र स्रोतको अभाव भएको हुनसक्छ । तर जनस्तरबाट पनि आवश्यक सहयोग भएको छैन ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics