जलवायु परिवर्तनसँग डोल्पो क्षेत्रको पौंठेजोरी



पेमा वाङछेन गुरुङ
डोल्पा जिल्ला प्राकृतिक रूपमा सुन्दर जिल्ला हो । यो जिल्ला पछिल्लो समय पर्यटकहरूको मुख्य रोजाईको गन्तव्य पनि बन्दै गएको छ । बिशेष गरि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका विभिन्न जौविक विभिधता, दुर्लभ वन्यजन्तु, भौगोलिक भिन्नता र यहाँ भित्र रहेका प्रसिद्ध शे–गुम्बा, साम्लिङ बोन गुम्बा, रापसार नामसुम जस्ता प्रसिद्ध प्राचिन गुम्बाहरू र फोक्सुण्डो ताल जस्ता धार्मिक धरोहारहरूले संसार भरिका पर्यटकहरूको मन लोभ्याउन सफल भएका छन् ।

निकुञ्जका अनुसार यहाँ अगिल्ला वर्षाहरू भन्दा गत वर्षदेखि पर्यटक आगमन उच्च छ । दुर्लभ हिँउ चितुवाको वासस्थान रहेको यस राष्ट्रिय निकुञ्जले डोल्पाको एक नगरपालिकासहित दुई वटा गाउँपालिकाको लगभग ६० प्रतिशत जमिन ओगटेको छ । यसको केही भागले मुगुको डोल्फुसम्म छोएको छ । शे–फोक्सुण्डो गाउँपालिका १ देखि ९ सम्मका सबै भू–भाग राष्ट्रिय निकुञ्ज क्षेत्रको भएकै कारण यो स्थानीय तह भूगोलका हिसाबले अधिराज्यकै सबै भन्दा ठूलो स्थानीय तह हुनबाट छुटेको हो । यदि सबै भू–भाग राष्ट्रिय निकुञ्जको बाहिर भएको भए त यो स्थानीय तह सबै भन्दा ठूलो भूगोल रहेको स्थानीय तह हुने थियो ।

बिश्व प्रसिद्द हिमालयन क्याराभान नामक नेपाली भोट भाषित चलचित्र पनि यसै गाउँपालिकाका विभिन्न स्थानमा छायंकन भएको थियो । शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकाका विभिन्न स्थानमा छायंकन गरी निर्माण भएको यो चलचित्र विश्व प्रसिद्द ओस्कार अवार्डको लागि पनि छनोट भएको थियो ।



यहाँ हिउँ चितुवा, झराल, नावर, फ्यामुसा, खरायो जस्ता दुर्लभ वन्यजन्तुहरू पाईन्छन् । घोडा, खच्चड, झोवा, याक र भेडाबाख्राहरू यस स्थानका मुख्य घर पालुवा जनावरहरू हुन् । यसले पनि यो क्षेत्रको सौदर्य बढाएको छ । यहाँ यार्चागुम्बु, पाँच औले, पदमचाल, कटुक, वन लसुन र भुल्तया (जटामसी) आदि औषधी जन्य पदार्थहरूसमेत भारी मात्रमा पाईन्छ ।

बैशाखदेखि कार्तिकसम्म मात्रै जताततै हरियाली देखिने उपल्लो डोल्पा आधुनिक विकासबाट धेरै पछि परेता पनि प्राचीन साँस्कृतिक सम्पदा र ऐतिहासिक धर्मिक तथा रितिरिवाजले धनी छ । यस कारण पनि बर्सेनी हजारौँ पर्यटकहरू घुमगाम गर्न यहाँ आउँछन् ।

आन्तरिक वडाहरू र गाउँवस्तिहरूमा मोटरसाईकल सम्म पुग्ने सडक सुविधा छ । यसले राष्ट्रिय सडक संजालमा छुन भने अझै केही समय लाग्छ । उपल्लो डोल्पाको मुख्य आम्दानी भनेको पशुपालन र मौसमी खेती नै हो । उवा र आलु नै यहाँको मुख्य कृषि जन्य वस्तुहरू हुन् । कुनै ठाउँमा फापर, गहुँ र सिमीहरू पनि फल्छ ।



जलवायु परिवर्तनको असर उच्च
यहाँका स्थानीयले ९० प्रतिशत खेती गर्न आकाशको पानी र हिँउद महिनाको हिँउको भरपर्नु पर्छ । हिजो–आजको मौसम र अनिस्चितकालीन हिउँ र पानीले खेतीपाती पनि सोचेको जस्तो नभएको स्थानीय बताउँछन् । हिउँ, अकाशको पानी र संचित पोखरीको पानीले बैशाखको सुख्खा समयमा पनि काम गर्दै आएको छ ।

जलवायु परिवर्तन र परिवर्तित मौसमले गर्दा पाटन र गोठहरूमा समेत घाँस कम उम्रिने गरेको कृषकहरूको भनाई छ । माथिल्लो डोल्पाको जमिन बनावट नै सुख्खा र अर्ध मरुभूमि रहेकोले उचित समयमा हिउँ, पानी नपर्ने बित्तिकै त्यसको पहिलो असर चरन क्षेत्रमा पर्छ । त्यसैले जलवायु परिवर्तनले कृषिमा मात्रै हानी नभई घरायसी पशुपालनमा समेत ठूलो हानी पु¥याएको छ ।



याक, गाईवस्तु, भेडाबाख्रा जस्ता सबै घरपालुवा जनावरहरूलाई प्रशस्त खर र घाँस बिना पशुपालन असम्भव छ । माथिल्लो डोल्पा भौगौलिक रूपले ठूलो र खाली वनजंगल भएकै कारण पशुवस्तु भारी मात्रमा पाल्ने गर्छन् । विगत ३÷४ बर्षादेखि कोभिड–१९ महामारीले गर्दा चीन तर्फके कुनै पनि नाका नखुलेको अवस्थामा डोल्पाकै भेडा च्याङ्ग्राले काठमाडौँ र पोखरा जस्ता मुख्य शहरहरूमा दशैँका लागि मासु धानेका थिए । चीनले आफ्नो नाकाहरू सबै बन्द गरेकै कारण बिगत झैँ चीनबाट मासु प्रयोजनको लागि भेडाबाख्रा तथा च्याङ्ग्राको आयत ठप्प भएको थियो ।

जलवायु परिवर्तनले सिमित क्षेत्रमा मात्रै असर देखिने होइन । यसले सबै क्षेत्रमा असर पारेको हुन्छ । परिवर्तित मौसम र जलवायु परिवर्तनले सिमित घेरा भित्रको क्षेत्रलाई मात्रै असर पार्ने होइन । यसको असर सबै क्षेत्रमा जोडिएको हुन्छ । यो प्राकृतिक असन्तुलनको एउटा उत्प्रेरक हो । घर परिवारमा चाहिने खानेपानीदेखि हात्तिसम्मका ठूला जीपजन्तुहरूको आहारासम्मा यसको असर परेको हुन्छ ।

यहाँ जलवायु परिवर्तनले नै गर्दा बर्षेनी चौँरी र घोडाहरूको आहारा हराउँदै गएको छ । बेमौसमी पानीका कारण वसन्त ऋतुलाई महसुश गर्न स्थानीयले पाएका छैनन् । हिउँले शरद ऋतुको चिसो हराउँदै गएको छ । हिजो–आज त असार मसान्त सम्म पुग्दा समेत सदा हिँडिराख्ने बाटो खुल्न सकेको छैन । पोहोर साल २०७९ असोजमै ३.५ फिट अग्लो हिँउ परेको थियो जसले गर्दा चरन खोज्दै चिसो छल्न तल्लो भेग झर्ने चलन समेत निरन्तर हुन सकेको थिएन ।

शे–फोक्सुण्डो गाउँपालिका – ५ र ६ मा स्याउ फल्न थाले भने १ ङिसालमा आरु पाक्न थाले । आजसम्म नदेखेको बाढी कागबेनीमा देखे, भने पोहोर साल २०७९ हिँउदको फागुन सम्ममा हिउँ नपर्दा स्थानीयले न्यानो महसुस गर्नुप¥यो ।

सदियौँ कालदेखि हजारौँ याकहरू चर्ने सागर छुताङ वनक्षेत्रमा हाल सयको संख्या चौरीलाई हिँउद काटाउन मुस्किल भएको गोठालोहरू बताउँछन् । घर वरिपरी सयौँको संख्यामा लडिबुडी गर्ने खरायो समेत केही बर्षादेखि देख्न छोडेका छन् । कार्तिकको अन्तिम तिर भोट आईरहने घैँटी टाउके चरा आउँन छोडे भने स्थानीय चौरीगाई हिँउद काट्न तल्ले भोग लैजान छोडे । यस्ता क्रियाकलापहरू देख्दा म जस्तो केही अबुझहरूले समेत मौसम अनुकुलता र जलवायु परिवर्तनको महशुस नगर्ने त कुरै भएन ।



मैले न कुनै मौसमविद्हरूबाट प्रशिक्षण लिएको छु, न त त्यस संकायको कुनै विद्वान नै हो । तर म ९ बर्षदेखि नै बुबासंग चौरी गोठमा बसेँ । त्यहाँको मौसम त्यसै समयबाट बुझेँ । अनि अहिले सम्मका परिवर्तन देखेँ । पछि सहरबाजार पुगे पछि लेख रचनाहरू र अन्तराष्ट्रिय स्तरका बिभिन्न जलवायु सम्बन्धीको सम्झौताहरू अध्ययन गर्दा हालसम्म मैले भोगेका परिवर्तित वातावरण, हावा, पानी र विपतहरूको मुख्य कारण नै जलवायु परिवर्तनले गर्दा हुने रहेछ भन्ने लाग्यो । दैनिक जनजीवानमा एकरूपता त नहोला, तर वर्षेनी थपघट तथा हावा पानीमा देखेको अस्थिरताले साँच्चीकै यो जलवायु परिवर्तनको असर हो भन्ने लाग्यो ।

वार्षिक मेला र पाटनको रमाईलो
माथिल्लो डोल्पाका स्थानीय बासीलाई डोल्पो भनिन्छ । त्यहाँको लिपीलाई सम्भोट्टा लिपी भनिन्छ । भाषालाई भोट भाषा भनिन्छ । ९० प्रतिशतले बौद्द धर्म मान्छन् भने १० प्रतिशतले प्राचिन बोन धर्म मान्छन् । पुरुषले भख्खु र दोचा लगाउँछन् भने महिलाले भख्खु र मेटी लगाउँछन् ।



हिजो आज रहन सहनमा परिवर्तन आए संगै धैरै जसो कटन र अन्य पलास्टिक जन्य लत्ताकपडाहरू पर्योग गर्न थाले भने केही दशक अगाडिसम्मा पूर्ण उन र चौँरीको क्यैसमिरबाट बुनेका लत्ताकपडाहरू प्रयोग गरिन्थ्यो ।
(लेखक गुरुङ शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष हुन्)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics