दिगो विकास लक्ष्यमा जलवायुको सन्दर्भ



विजय सिंह
संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि कार्यान्वयनमा ल्याएको दिगो विकास लक्ष्यले नेपालको आर्थिक सामाजिक विकासका निम्ति एउटा चुनौतिपूर्ण अवसर दिएको छ । यो अवसलाई नेपालले चुकाउनु हुँदैन । तोकिएको यसको आधा समय हामीले बिताइसकेका छौं । सन् २०३० सम्ममा त्यो लक्ष भेटाउन पनि उतिकै चुनौती छ नेपालका लागि । किनकी यो समय सम्ममा गर्नुपर्ने काम धेरै नै रोकिएका छन् । भएका पनि घस्रीएर मात्रै अघि सरेका छन् । समय बितिरहेको छ, काम गर्नुपर्ने धेरै नै छन् ।

चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेकाले नै दिगो विकास लक्ष्य राखिएको हो । र, दिगो विकासका लागि गरिबीको अन्त्य नै एउटा अपरिहार्य आवश्यकता पनि हो । पछिल्लो समय विश्वमा तापक्रम बढ्दै छ । पृथ्वी तातिँदैछ । जलवायु परिवर्तनका असर धेरै नै देखिएका छन् । यो समस्याले पनि दिगो विकासको लक्ष भेटाउन चुनौती थपेको छ नेपालसहितका मुलुकमा । यो समस्याबाट बच्दै र जुध्दै अघि बढ्नु अहिलेको आवश्यकता हो ।

विश्वका सबै सरकारहरुले प्रतिबद्धता जनाएका ती विकास लक्ष्यहरुले सन् २०३० सम्ममा सबै प्रकारका गरिबी र भोकमरी उन्मुलन गर्नेदेखि विपद्सँग जुध्ने क्षमता मजबुत बनाउने सहित १७ वटा उद्देश्य राखेका छन्। तर, नेपालले भने अन्य उदेश्य पुरा गर्नुपर्ने चुनौती सँगै विपद्को चुनौती पनि भोगिरहेको छ । जलवायु परिवर्तनले देखाउने विभिन्न समस्या सँग जुधिरहेको छ ।

विभिन्न संकटसँग जुधेको नेपालले अब जलवायु परिवर्तनको जोखिम मोल्दै ती १७ उद्देश्य पनि पुरा गर्नु छ । दिगो विकास लक्ष्यको कार्यसूचीअन्तर्गत १७ वटा लक्ष्यहरू, १६९ परिमाणात्मक लक्ष्यहरू र २३४ वटा विश्वव्यापी सूचकहरू छन् । नेपालले देशको वस्तुगत यथार्थता समेट्ने गरी लक्ष्य १४ का सूचकबाहेक अन्य अन्तर्राष्ट्रिय सूचकको अतिरिक्त २४५ सूचकहरू थप गरी जम्मा ४७९ सूचकहरू निर्धारण गरेको छ । यस मध्ये दिगो विकासका लक्ष्यहरूको १३औं नंबरमा रहेको जलवायु परिवर्तन र यसका असरहरूसँग जुध्न तत्काल कार्य अघि बढाउने भन्ने बुँदाका विषयमा केही चर्चा गरौं । किनकी यो बुँदाले अन्य बुँदाका कुरालाई पनि छुन्छ र हरेक लक्षमा यो विषय कतै न कतै घुसेकै हुन्छ ।

जलवायु परिवर्तनका असरलाइ कतै मौसममा आएको परिवर्तन पनि भनिएको देखिन्छ । तर, मौसमले यसको एउटा अवयवलाई मात्र प्रतिनिधित्व गर्छ । जलवायु परिवर्तनका बहुआयामिक प्रभाव छन्, यसले असर नपारेको कुनै एक क्षेत्र छुट्ट्याउन गाह्रो पर्छ । त्यसैले दिगो विकास लक्षमा समेटिएका अन्य बुँदालाइ यसले छोएको हुन्छ । दिगो विकास दीर्घकालीन र सन्तुलित दृष्टिकोण हो । प्रकृतिप्रदत्त साधन–स्रोतलाई मानवजन्य हितका लागि विवेकशील भई आगामी सन्ततीको भविष्यको आवश्यकतासमेतलाई मध्यनजरमा राखी उपयोग गर्नु नै दिगो विकास हो । त्यसकारण जलवायु परिवर्तन र दिगो विकासको सम्बन्ध धेरै नै छ । विकासलाई दिगो बनाउन प्रकृति र मानवबीच उपयुक्त सम्बन्ध कायम हुनुपर्छ । अनि मात्रै सबै लक्ष पुरा हुनेछन् ।

दिगो विकासका लक्ष्यहरु हासिल गर्न नवीकरणीय ऊर्जाको ज्ञान विज्ञानले लेसयुक्त मानव संसाधन विकास गर्नुपर्छ । सफा ऊर्जाको आधार जलस्रोतलाई प्रमुखताका साथ अगाडि बढाउनुपर्दछ । दिगो विकास बहुआयामिक तथा गतिशील अवधारणा हो । सरकारको प्रक्रियागत ढिलासुस्ती र कर्मचारीको निर्देशित मानसिकता परित्याग गरी सिर्जनात्मक क्षमताको विकास गरेमा यसले फड्को मार्छ । अब करिब ६ वर्ष मात्रै बाँकी छ । यो अवधीका हरेक दिन उपलब्धि मुलक बनाउनुपर्छ । जसको लागि दृढ राजनीतिक इच्छाशक्ति, सरकारको सकरात्मक भूमिका र वातावरणीय अनुकूलता प्रभावको पक्षले गोलबन्द हुनुपर्छ । जलवायु अनुकुलताको विषय मात्रै पनि नागरिकलाई बुझाउन सके हरेक समस्या सँग जुधेर उनीहरू माथि आउन सक्छन् ।

यसअघि पनि नेपालमा विभिन्न योजना नबनाएका होइनन् । दिगो विकासका लक्ष्य भित्र पर्ने मुख्य विषय गरिबी, भोकमरी, शिक्षा, समानता, जलवायु अनुकुलनता लगायतका विषयमा धेरै काम भए । तर, ती काम फलदाई हुन सकेका छैनन् । कुनै काममा सरकारको गति कम छ त, कुनैमा सरकारकै नीति नियमले अड्काएको छ । नेपालले मुख्य रूपमा वित्त, क्षमता र प्रतिवद्दतामा ध्यान दिनुपर्छ । दिगो विकासको लक्ष्य हाँसिल गर्न त्यस भित्रका जलवायु परिवर्तनका बुँदा जस्ता महत्वपूर्ण विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । आफ्नो भूगोल बुझेर नीति बनाउनुपर्छ, निर्णय गर्नुपर्छ । नागरिकलाई किनेर खान भन्दा पनि उत्पादन गरे जिउन सिकाउनुपर्छ । एउटा भनाई नै छ, ‘माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउनु ।’ किनकी एकपटक देखाएको बाटोमा सँधै टिक्न सक्ने बनाउनु नै दिगो विकास पनि हो ।

(जलवायु विज्ञ सिंह संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) मा कार्यरत छन् ।)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics