लिबिया बाढी : एकै शहरका ३०,००० बढी विस्थापित



त्रिपोली - लिबियामा ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण दशौँ हजार विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले जनाएको छ ।

“पूर्वी शहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण विस्थापित भएका छन्भने नजिकैका अन्य शहरहरूमा थप हजारौँ घरबारविहीन भएका छन्,” आईओएमले बुधबार एक विज्ञप्ति निकालेर बताएको छ ।

गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।

यसअघि रेडक्रसका अधिकारीहरूले पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका बताएका थिए ।

रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् ।

यसैबीच, लिबियाका अधिकारीहरूले डेर्नामा ज्यान गुमाउनेको सङ्ख्या चार हजार पाँच सय नाघ्नसक्ने बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics