पर्यटक कुरिरहेको यो स्यार्पु ताल

धिरेन्द्रबहादुर चन्द
भनिन्छ नी – ‘प्रकृती घुमेपछि बुझिन्छ ।’ यस्तै बुझाइ र सिकाइको यात्रा बन्यो मेरोलागि स्यार्पु ताल । जहाँ म पुगे यात्रा, दुरी र देखिएका त्यो क्षेत्रका दृश्यले मेरो बुझाइमा इट्टा थप्ने काम गर्याे । कुरा सुरु गरौं त्यहीँ यात्रा अर्थात पर्यटकीय क्षेत्र स्यार्पु ताल सम्मको ।

२०८० साल भदौ १९ गतेको यात्रा थियो त्यो । यात्रामा म लगायत मेरा सहकर्मी थियौं । बाफिकोटमा अवस्थित स्यार्पु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम र तेस्रो बर्षको प्रयोगात्मक परीक्षाका लागि ब्याह्र सुपरिवेक्षण गर्नु पर्ने भएकाले नै यो यात्रा तय भएको थियो । यातायातको सहजता नभए पछि हाम्रो टिमको निर्णय बमोजिम मोटरसाइकलमा जाने नै सल्लाह भयो । जस्को लागि दुई सामाजिक अभियान्ता लक्ष्यमण ओलि र धुर्व बुढाथोकीको सहयोगमा यात्रा तय भयो ।

१९ गते विहान ६ बजे हाम्रो यात्रा खोलागाउँ पश्चिम रुकुम हुँदै खलंगा मुसिकोट सडकबाट सुरु भयो । भेरी किनारका रमणीय स्थानहरूमा रमाउँदै फोटोहरू खिच्दै सिम्ली बजार पुगियो । त्यहाँ केही समय चिया खाने सल्लाह भयो । चियापान पछि यात्रा लाई अगाडि बढायौ । भेरी नदी किनारको यात्रामा गफ गर्दै बाफिकोट सडक तिर लाग्यौ । कच्चि सडक भएकाले यात्रामा केही कठिनाई भयो । तर, रमाइलो गफ–गाफको रापले कठिन महसुस नै भएन । भेरी नदी पार गरेर हाम्रो टिम बाफिकोटको उकालो लाग्यो ।

केही समयपछि स्यार्पु बहुमुखी क्याम्प्स पुग्यौ । क्याम्पसमा क्याम्पस प्रमुख लगायत अन्य कर्मचारीहरू हाम्रो प्रखाइमा हुनुहुन्थयो । क्याम्पस पुग्ने बेला सम्ममा करिब १० बज्दै थियो । र, खाना खाने समय पनि भैसकेको थियो । क्यापसप्रमुख तिलक पुनले हाम्रो टिम को लागि खानाको व्यवस्थापन गर्नुभयो । रुकुम जिल्लालाई ५२ पोखरी ५३ तालको जिल्ला भनेर सानै मा पढेका थियौं । क्याम्पसबाट बाइकमा २० मिनेटको दुरीमा स्यार्पु ताल रहेछ । स्यार्पु तालको बारेमा सुन्दा ताल नजिक छिटो जान पाए हुन्थ्यो भने महसुस भैरहेको थियो ।



क्याम्पसको काम सकेपछि क्याम्पस प्रमुखले स्यार्पु तालमा आफू पनि जाने र तालको बारे केही जानकारी दिने कुरा गर्नुभयो । हाम्री यो कुरा सुने पछि झन् हर्सित भयौ । अनि तय भयो क्याम्पस हुँदै स्यार्पु ताल तिरको यात्रा । १५/२० मिनेटमा स्यार्पु तालमा हाम्रो टिम पुग्यो । वरिपरी अग्ला पहाडले घेरिएको र बीचमा त्रिकोण आकारको नीलो पानी देखिने ताल । तालको वरपरको हरियाली, तालको माथितिर रहेको सानो गाउँ वस्ति तथा तालको छेउछाउमा रहेका ठूला ठूला ढुंगाको कारण कुनै पनि पर्यटकलाई आकर्षण नगर्ने होइन । प्राकृतिक रूपमा रहेको यो तालको दृश्यले हामी पनि निकै मनमोहक भएका थियौ ।

आधा घण्टाको त्यो डुंगाको सयल अनि साँझपखको त्यो दृश्यले लाग्थ्यो कि त्यो समयमा स्वर्गका अप्सरा आएर सयल गरिरहका छन् । समय कति चाँडै बित्यो पत्तै भएन । बास बस्ने रहर त थियो तर विविध कारणले हामीलाई बस्नको लागि समय मिलेन । झन्डै २ घण्टा तालमा रमायौं । हालको रुकुम पश्चिम जिल्ला बाँफीकोट गाउँपालिका – ३ र ५ को बिचमा अवस्थित यो ताल २८ देखि २९ डिंग्री उत्तरी अक्षाश तथा ८२ं १२ंं देखि ८२. ५३ पूर्वी देशान्तर फैलीएको छ । यो ताल समुन्द्र सतहदेखि करिब १४४२ मीटरको उचाईमा रहेको छ । २.६ वर्ग किलोमीटर क्षेत्रफलमा रहको छ । यसको गहिराई वर्षात्मा १३ मिटर अन्य समयमा ५ मिटर गहिराइमा छ ।

यो ताल सदरमुकाम देखि २१ किलो मीटर टाढा रहेको छ । यो तालको विकास र प्रचार प्रसारमा ध्यान दिए यसलाई पर्यटकीय क्षेत्रको रूपमा सहजै विकास गर्न सकिन्छ । त्यसका लागि तालको वरपर पार्क निर्माण गरी पर्यटकीय स्थल तयार गर्न, तालको वरपरि विरुवा रोपेर आकर्षक बनाउन, तालको नजिकमा रहेको वस्तिलाई अन्यत्र स्थानान्तर गरी उक्त वस्तिमा होमस्टे निर्माण गरी आउने पर्यटकहरूलाई बस्नको लागि व्यवस्थित बसोबास गर्न, ताल सम्म जानको लागि कच्ची बाटो भए पनि पर्यटकको सहजताको लागि स्थानीय सरकारले पक्की बाटो तयार गर्नु पर्ने नितान्त आवश्यक छ ।

यसरी प्राकृतिक रूपले धनी रुकुम पछिल्लो अवस्थामा मानवीय क्रियाकलापहरू र प्रचार–प्रसारको कमी, संरक्षण गर्ने परिपाटी नभएकाले यहाँका अधिकांश तालहरू संकटमा परेका छन् । तालको प्रचार–प्रसारको लागि स्थानीय एवम् राष्ट्रिय सञ्चारमाध्यमबाट यसको बारेमा अभियान चलाएर प्रचार–प्रसार गर्नु पर्ने र जलाधार क्षेत्रको विकास गरी आकर्षक तथा अवलोकनयुक्त बनाउनु पर्ने अहिलेको आवश्यकता हो ।

प्रकृतिको अनुपम सृष्टि, जैविक विविधता अन्य प्राणीजगत र वनस्पतिलाई बाँच्ने अधिकार सुनिश्चित गर्न परम कर्तव्य मानवको हो । प्राकृतिक तथा मानवीय क्रियाकलापले वातावरणमा निम्त्याईरहेका असरहरूलाई रोक्नै पर्ने अहिलेको चुनौती हो । यसका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको छ । स्मरणीय त्यो यात्राले हामीलाई फरक खालको अनुभुति दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics