गैंडाले किन खान थाले खैनी, बिस्कुटका खोल ?

काठमाडौ – गैंडा भन्नसाथ सम्झने स्थान हो चितवन । यस क्षेत्रमा गैंडाको प्रत्यक्ष अवलोकन गर्न दैनिक सैयौं पर्यटक पुग्छन् । र, गैंडाकै कारण पनि स्थानीय पर्यटन व्यवसाय फस्टाएको छ, स्थानीयको दैनिकी चलेको छ ।

तर, त्यसरी स्थानीयको गाँस बास जुटाउन प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सघाइरहेको गैंडाको भने स्वास्थ्य बिग्रँदैछ – तिनै पर्यटक र स्थानीयले अव्यवस्थित रूपमा फालेका खैनी, बिस्कुट र चकलेटका खोलका कारण ।

केही समय अघि गरिएको एक अध्ययनमा उक्त दुर्लभ वन्यजन्तुको आहारविहारमा मानिसको गतिविधिले नराम्रो प्रभाव पारेको देखाएको छ ।

दुर्लभ एकसिङे गैंडाको महत्त्वपूर्ण वासस्थान मानिने चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन वर्षमा भएको अध्ययनका क्रममा बिस्टा (गोबर)का २५८ वटा नमुना संकलन गरिएको थियो । तीमध्ये १० प्रतिशतमा प्लास्टिकका टुक्राहरू भेटिएको अनुसन्धानकर्ता बलराम अवस्थी बताउँछन् । अनुसन्धानकर्ताले सन् २०२०, २०२१ र २०२२ मा गैंडाको बिस्टाबारे अनुसन्धान गरेका थिए ।

अनुसन्धानकर्ता अवस्थीका अनुसार २५८ वटा नमुना जाँच गर्दा १०.१ प्रतिशत गैंडाको गोबरमा प्लाष्टिकका टुक्रा भेटिएको थियो । ‘हामीले गम्भिर रूपमा अनुसन्धान गर्दा धेरै गोबरमा प्लाष्टिकको टुक्रा भेटियो । ती मध्ये ८ प्रकारका प्लास्टिक बढी पाइयो,’ अवस्थीले भने ।

८ मध्ये दुई वटा धेरै कडा रबरका टुक्रा समेत भेटिएको उनी बताउँछन् । कडा मध्ये एउटा टुक्रा पेय पदार्थको बिर्को थियो । अन्य ६ वटा भने नरम प्रकृतिका प्लाष्टिक थिए । ती नमुनामा खैनी, बिस्कुट र चकलेटका खोल तथा अरू किसिमका प्लास्टिक भेटिएको थियो ।

जैविक विविधता संरक्षण केन्द्र सौरहाका पूर्व प्रमुख बाबुराम लामिछाने गैंडाले भेट्ने गरी यसरी प्लास्टिकका खोल फाल्ने क्रम नरोकिए भविश्यमा समस्या आउने बताउँछन् । भन्छन्, ‘दुर्लभ जनावर र संकटापनन भएकाले देशले संरक्षणमा ठूलो प्रयास र लगानी गरेर गैंडा जोगाएको हो । र, त्यसको लागि सकेसम्म प्राकृतिक अवस्थामा नै रहन त्यसलाई दिनुपर्छ । उसका वासस्थान क्षेत्रका मानिसको गतिविधि र बस्तीहरू हटाउनुपर्छ । यसो भए गैंडाको पहुँच सम्म प्लाष्टिक नपुग्न सक्छ ।’

प्लाष्टिकले गैंडाको स्वास्थ्यमा असर गर्ने विज्ञ बताउँछन् । स्वास्थ्य कमजोर भएपछि प्रजनन् क्षमता पनि कमजोर हुने भएकाले यो क्रम समयमै रोक्नुपर्ने लामिछाने बताउँछन् । निकुञ्ज प्रास्टिक निषेधित क्षेत्र भए पनि प्लास्टिक मुक्त हुन सकेको छैन ।

वनजंगलमा प्लास्टिक प्रदूषण हुने खालका गतिविधि नियन्त्रण नगरे गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिने चिन्तामा विज्ञहरू देखिन्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics