सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा– घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ ।

यसका कारण सयपत्री फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।


विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् ।

उनले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । तीमध्ये मेचीनगरमा लगाइएको फूल ढकमक्क फुलेर धमाधम बिक्री भइरहेको छ ।


उनको बारीमा फुलेको सयपत्री फूल खरिदका लागि विर्तामोड, धुलाबारी र काँकरभिट्टाका सङ्घसंस्था धेरै आउने गरेका छन् ।

बाह्रै महिना सयपत्री फूलको उपलब्धता हुने भएपछि जिल्लामा हुने अधिकांश सभा समारोहमा त्यही प्रयोग हुन थालेको उनको भनाइ छ ।

उनले अग्रिम फूलका अर्डर गर्ने संस्थासंस्थाको कार्यक्रमस्थलमै माला पुर्‍याउने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले उत्पादन गर्न सके बजारको समस्या नहुने बताए । उनको बारीमा फुलेको सयपत्री फूलप्रति माला ५० का दरले बिक्री हुने गरेको बताए । सयपत्री फूलको खेतीबाट थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ ।

जिल्लामा विगतका वर्षमा चाडपर्वलाई मात्रै लक्षित गरेर सयपत्रीको फूल उत्पादन गर्ने गरिएको थियो । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगत रुपमा फूलको व्यावसायिक खेती हुने गरेको हो ।

मेचीनगर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक बिगाहा जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलको खेती लगाएका छन् ।

स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अनुदानमा लगानी गर्ने हो भने फूलको परनिर्भरतालाई हटाउन सकिने उनको बुझाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics