सौराहमा किन घटे पर्यटक ?

चितवन - सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो। अर्थात् पर्यटक चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो। विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायी यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन्।

पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडकमार्ग सहज नहुनु तथा हवाई भाडा महंगो भएकाले पर्यटक सङ्ख्यामा यस वर्ष कमी आएको व्यवसायीको भनाइ छ। लामो समयदेखि नारायणगढ–मुग्लिन, मुग्लिन–नौबीसे र नारायणगढ–बुटवल सडकखण्डमा मर्मत तथा विस्तारले यातायात असहज बनेको छ। पोखराबाट आउनेका लागि मुग्लिन–पोखरा खण्ड पनि बिस्तारले अवरुद्ध भइरहेको छ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीका अनुसार सौराहाका होटलमा यतिबेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ। जबकि, विगतका वर्षमा यतिबेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो। सडकको दयनीय अवस्था, महंगो हवाई भाडालगायतले पर्यटक सङ्ख्या कम भएको उनको बुझाइ छ।

उनका अनुसार एउटा विदेशी पर्यटक काठमाडौंबाट भरतपुर आउँदा १ सय ३५ डलर हवाई भाडा लाग्छ। आवतजावत भाडामात्रै २ सय ७० डलर खर्च हुन्छ। निकुञ्जमा जीप तथा हात्ती सफारी, पैदल यात्रा गर्दा खर्च स्वभाविक रुपमा बढ्छ। विदेशका लागि निकुञ्ज प्रवेशमा २ हजार रुपैयाँ खर्च हुन्छ भने हात्ती सफारीका लागि २ हजार ५ सय, जीप सफारीका लागि २ हजार रुपैयाँ खर्च लाग्छ।

संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईले पर्यटक आकर्षित गर्नका लागि संघले चितवन पर्यटन महोत्सव गर्ने तयारी गरिरहेको बताए। विगतका वर्षमा हुने हात्ती महोत्सवलाई पर्यटन महोत्सवका रुपमा गर्न लागिएको उनको भनाइ छ।

संघका पूर्वअध्यक्ष सुमन घिमिरे पर्यटकीय मौसम पछाडि सरेको बताउँछन्। विगतका वर्षमा सेप्टेम्बरको मध्य अर्थात् असोज पहिलो साताबाटै पर्यटक आगमन हुने भएपनि यसवर्ष अझै पर्यटक नआएको बताउँछन्।

युनाइटेड हात्ती सहकारी संस्था लिमेटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यसपटक हात्ती सफारीका बुकिङ खासै नभएको बताउँछन्। उनको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’ समेत पाउन नसकेको अवस्था छ। ‘दैनिक १२ देखि १५ वटा मात्रै ट्रिप आउने गरेको छ, चाडपर्व सुरु भएपछि ट्रिप बढ्नेमा विश्वास छ,’ उनले भने।

चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनका अनुसार अब पानी नपरेमा असोज १० गतेदेखि निकुञ्ज खुल्ला गरिने छ। बाटो र पुल धेरै बिग्रिएका ठाउँ बाहेक अन्यत्र खुल्ला गर्न लागिएको उनको भनाइ छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics