घना जंगल छाडेर समुद्र तटमा रमाउन थाले एसियाटिक सिंह

काठमाडौं – सिंह मध्येको एक हो एसियाटिक सिंह । यसको मुख्य वासस्थान नै भारतको गुजरातको गिर जंगल हो । उनीहरू घाँसे मैदान र जंगलमा बस्न रुचाउँछन् । किनभने यी वासस्थानहरूले तिनीहरूलाई धेरै शिकार प्रदान गर्छ । तर, पछिल्लो समय एसियाटिक सिंहले आफ्नो वासस्थान परिवर्तन गर्न थालेका छन् । उनीहरू घना जंगल भन्दा समुद्र तटलाई आफ्नो बासस्थान बनाउन रुचाएको एक अध्ययनले देखाउँछ ।

यो हुनुको मुख्य कारण नै आफू बस्दै आएको वासस्थान असुरक्षित हुनु हो । ती स्थान सिकारीले कब्जा जमाउन थालेपछि एसियाटिक सिंह समुद्रको तटमा पुगेका छन् । अहिले सुमद्री तटमा सिंहका पाइला भेटिन्छन् । कुनै कुनै समय त्यहीँ हावा खाएर सुतिरहेको पनि भेटिन्छ ।

एक समय एशियाटिक सिंह शिकार र वासस्थानको क्षतिको कारणले गर्दा १९०० को शुरुवातमा लगभग लोप हुने अवस्थामा पुगेको थियो । एसियाटिक सिंहको एक मात्र घर गुजरात राज्यका वन क्षेत्र हो ।

२०२० मा गणना गर्दा लगभग ७०० जनावरहरू मध्ये अधिकांश गिर वन र यसको वरपरका संरक्षित क्षेत्रहरूको सुख्खा, पातलो भू–भागमा पाइएको थियो । तर, अहिले धेरैजसो समुद्री किनारमा बसाइँ सरेका छन् ।

२०१० देखि २०२० को बीचमा, गुजरातको तटमा बस्ने सिंहहरूको संख्या २० बाट १०४ मा पुगेको छ । गुजरातका वन अधिकारीहरू भन्छन्, ‘सिंहले अब तटीय बासस्थानहरू लिन थालेका छन् । यसमा विभिन्न कारणहरू हुन सक्छ ।’

अन्य स्थानसँग तुलना गर्दा तटीय क्षेत्रहरूमा सिंहहरू फेला पार्नु नयाँ भने होइन । नामिबियामा सिंहहरू समुद्र तटमा भेटिन्छन् । जहाँ तिनीहरूले सिलको शिकार गर्छन् । तर, भारतमा भएको घटनालाई भने असामान्य मानिएको छ । कार्निभोर संरक्षण र अनुसन्धानका प्रमुख सल्लाहकार भेन्कटरामन भन्छिन्, ‘सिंहहरूले बलौटे समुद्र तट प्रयोग गरेर समुद्रको किनारमा हिंड्नु एक अविश्वसनीय दृश्य हो । मैले धेरै पटक त्यो देख्न पाएको छु ।’



नोभेम्बर २०२२ मा, गुजरातको वन विभागका अन्वेषकहरूले तटीय क्षेत्रमा एसियाटिक सिंहहरू जान थालेको पुष्टि गरेका थिए । २०१९ देखि २०२१ को बीचमा, तिनीहरूले जीपीएस रेडियो कलर जडान गरी १० वटा सिंहहरूको अनुगमन गरेका थिए । यो अनुगमनबाट सिंहले वासस्थान फेरेको पुष्टि भएको हो । गिरका वनका उपसंरक्षक र अध्ययनका प्रमुख लेखक मोहन रामका अनुसार अनुन्धानमा अंकित गरिएका सिंहहरूले पनि पहिलेको वासस्थान छाडेर समुद्र तटमा गरेको पाइएको थियो ।

अध्ययनका क्रममा नामिबियाको तटीय सिंहहरूले जस्तो गुजरातमा रहेकाहरूले सामुद्रिक जनावरहरूको शिकार नगरेको पाइयो । समयसँगै, तिनीहरूले मरेको माछा भने खानथालेको भेटिएको छ । तिनीहरूले प्रायजसो जंगली बँदेल, निलगाई र भेट भने घरपालुवा गाईवस्तु खानेगरेका थिए ।

तर, २०२० मा सिंहले कछुवाको शिकार गरेको रिपोर्ट आएको थियो । राम भन्छन्, ‘वन अधिकारीहरूले तटीय सिंहहरूको खानपान र शिकारको ढाँचा अध्ययन गरिरहेका छन् ।’ सिंहले आफ्नु लागि सुरक्षित स्थान समुद्र तट ठाने पनि शिकारीहरूको उपस्थिति त्यहाँ पनि हुन सक्नेमा विज्ञ चिन्ता व्यक्त गर्छन् ।

गुजरातका अधिकारीहरूले भर्खरै गिरबाट ६० माइल (१०० किलोमिटर) टाढा राज्यको बर्दामा एसियाटिक सिंहहरूको दोस्रो घर बनाउने योजना घोषणा गरेका छन् । भारत सरकारले केही सिंहलाई छिमेकी राज्य मध्य प्रदेशमा स्थानान्तरण गर्ने प्रस्तावको पुनर्मूल्यांकन पनि गरिरहेको छ । २०१३ मा, भारतको सर्वोच्च अदालतले स्थानान्तरणको आदेश पनि दिएको थियो ।

यद्यपि, सिंहहरू संरक्षित क्षेत्रहरू बाहिर सर्दै जाँदा, मानव–सिंह द्वन्द्वको चिन्ता बढ्दै गएको छ । सिंहले मानिसहरूलाई आक्रमण गर्ने छिटपुट रिपोर्टहरू पनि आउन थालेका छन् । उनीहरूले कहिलेकाहीं गाईवस्तु पनि मार्छन् । किसानहरूले सरकारबाट क्षतिपूर्ति पनि पाउँदै आएका छन् । त्यसैले अहिले स्थानीय समुदायहरूले सिंहहरूलाई आदर गर्छन्, र यसले सहअस्तित्व सम्भव बनाएका छन् । विकासकर्ताहरूले तटीय शेरहरूको बसाइँसराइ मार्गहरूको बारेमा बढ्दो ध्यान दिनु आवश्यक रहको अनुसन्धानकर्ताहरू बताउँछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics