झापाको सहकारीलाई रुद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार



झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार प्रदान गरिने भएको छ । झपाको रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले यसवर्षको उत्कृष्ट कृषि पुरस्कार महारानीझोडा साना किसान कृषि सहकारी संस्था प्रदान गर्न लागेको हो ।

यो संस्थाले सहकारीकरणको सिध्दान्त अनुरुप १ हजार ८ सय ४५ जना महिलाहरुलाई संगठित गराई कृषि क्षेत्रको विकासमा योगदान पुर्याएवापत यो पुरस्कार दिन लागिएको हो । उनीहरुले ८० बिघा जमिनमा एकीकृत पध्दतिद्वारा चक्लाबन्दीको सुरुवात गरी आधुनिक कृषि प्रविधि प्रयोग गरी कृषिकार्य गर्दै आइरहेका छन् । व्यवस्थित सिंचाइ तथा बीमा गरी धान, मकै, गहुँ, आदि उत्पादन गरिरहेका छन् । साथै बीउ भण्डारण, प्रशाोधन उद्योग, अचार उद्योग, दुग्ध संकलन, तरकारी खेती, बागबानी, मत्स्यपालन, पशुपालन, चरनखेती, कृषि वन, युवापलायन, खेतीयोग्य जमिनको खण्डीकरण तथा बाँंझोपन रहने जस्ता राष्ट्रिय समस्याको समाधानका लागि नमूना एकीकृत सहकारी खेती कार्यान्वयनमा ल्याएका छन् ।

सहकारी संस्थाका महिलाहरुले सहकारी पसल, सहकारी प्रशिक्षण, सामाजिक सेवा मार्फत् कृषि क्षेत्रमा नवीनतम प्रयोग सुरु गरेका छन् । कृषिमा यान्त्रिकरण, आधुनिकीकरण र व्यवसायीकरण गरेर राष्ट्रलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन कृषक सदस्यहरुलाई क्रियाशिल गराउँदै आइरहेका छन् ।

कृषि क्षेत्रको समग्र विकास गरी उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत समेत गर्दै आएको यस सहकारीलाई कृषि क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दे यो पुरस्कार वितरण गर्न लागिएको रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिएका छन् । पुरस्कारको राशी १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ । पुरस्कार आगामी बैसाख ४ गते प्रदान गरिनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics