मैवाखोला गाउँपालिकाका पहिरो पीडित एकीकृत बस्तीमा

ताप्लेजुङ - मैवाखोला गाउँपालिकाले पहिरोका कारण विस्थापित बनेका ओदक र ताम्राङका ६५ परिवारलाई एकिकृत बस्ती तथा अस्थायी आवास निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ ।

गत असारको सुरुवाती समयमा गएको विनाशकारी पहिरोबाट विस्थापित बनेका वडा नम्बर ४ ओदक र ताम्राङ बस्तीका परिवारलाई एकिकृत बस्ती निर्माण गरेर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

साँघुस्थित निर्माणाधीन मदन भण्डारी स्मृति रङ्गशालामा निर्मित एकिकृत बस्ती तथा अस्थायी आवासको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराई, गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमलगायतले संयुक्त रुपमा उद्घघाटन गरि हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

पहिरो लगत्तै गाउँपालिकाले आश्रय र सुरक्षाको तत्काल आवश्यकतालाई सम्बोधन गर्दै बस्ती परियोजनाका लागि कदम चालेको थियो । करिब दुई महिनाको अवधिमा निर्मित बस्तीले विस्थापित बनेका र पहिरोको उच्च जोखिममा परेका घर परिवारलाई सुरक्षित आश्रयस्थलका रुपमा काम गर्ने गाउँपालिका अध्यक्ष वनेमले बताए ।

परिवार सङ्ख्या हेरी विभिन्न वर्गमा वर्गिकरण गरेर आवास कक्ष हस्तान्तरण गरिएको छ । खानेपानी, शौचालय लगायतको सुविधा सहितका ६५ आवास गृह निर्माण गरिएका छन् । टोल विकास संस्था, स्थानीय समुदायसहित विभिन्न योगदानकर्ताको सहयोगले बस्ती निर्माणमा महत्वपुर्ण भुमिका खेलेको गाउँपालिकाले जनाएको छ ।

बस्तीमा रहेका आवास गृह रु एक करोड ५० लाख बढीको लागतमा निर्माण भएको जनाइएको छ । आवास पाएसँगै पहिरो पीडित परिवारले राहत महसुस गरेका छन् । असार पहिलो सातामा अविरल वर्षासँगै गएको पहिरोका कारण मैवाखोलामा ठूलो मात्रामा भौतिक क्षति पुगेको थियो । उक्त समयमा सिदिङ्वा गाउँपालिकामा समेत पहिरोका कारण जनधनको क्षति भएको थियो । रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics