डब्लुएफपीले भुटानी शरणार्थीको उपलब्ध खाद्यान्न कम गर्ने
- नेचर खबर
आर्थिक अनुदानको अभावका कारण राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) भुटानी शरणार्थीका लागि उपलब्ध भइरहेको खाद्यान्नको मात्रा कम गर्ने भएको छ । भुटानबाट आएका शराणार्थीहरुको संख्या हाल करिव ११ हजार रहेको छ ।
वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र एकल आमासहितका सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेका करिव ३१ सय शरणार्थीहरुका लागि भने डब्लुएफीले पूर्ण मात्राको खाद्यान्न उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ । पूर्ण रासनमा मासिक आपूर्ति गरिने करिव १७ केजी खाद्यान्न रहने गर्दछ, जसमा दैनिक रासनका रुपमा ४ सय ४० ग्राम चामल, ९० ग्राम दाल, २५ ग्राम खानेतेल र नुन् रहेको छ । फेब्रुअरी महिनाको खाद्यान्न आपूर्ति यी व्यक्तिहरुका लागि आगामी हप्ता हुँदैछ । रासन प्रति व्यक्ति प्रति दिन २१ सय क्यालोरी बराबर रहेको छ ।
बाँकी आर्थिक अनुदानले डब्लुएफपीले बाँकी ७ हजार ७ सय शरणार्थीहरुका लागि १० केजी चामलको मासिक रासन उपलब्ध गराउने कार्यलाई निरन्तरता दिनेछ ।
शरणार्थी समुदायका केही सदस्यहरुले अभिव्यक्त गरेको चिन्तालाई डब्लुएफपी स्वीकार गरेको जानकारी दिँदै डब्लुएफपीकी प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले भने ‘गैरजोखिमपूर्ण समूहका लागि खाद्यान्नको मात्रामा कटौती गरिने निर्णयलाई हलुका रुपमा लिइएको छैन ।’ खाद्यान्नको हिसाबले सबैभन्दा असुरक्षित रहेका जोखिमपूर्ण अवस्थामा रहेका शरणार्थीलाई प्राप्त पूर्ण सहयोगलाई डब्लुएफपी ले निरन्तरता दिने उनले जानकारी दिए ।
यस प्रकारको परिवर्तनका बारेमा भुटानी शरणार्थीहरुलाई अवगत गराउन डब्लुएफपी, यूएनएचसीआर र गृह मन्त्रालयको राष्ट्रिय अनुसन्धान समन्वय इकाइले अक्टोबर र डिसेम्बर २०१६ मा र जनवरी २०१७ मा सचेतना अभियानको सञ्चालन गरी शरणार्थीहरुलाई आर्थिक सहयोगको कमीका कारण रासनमा हुने कटौतीका बारेमा जानकारी गराएका थिए ।
डब्लुएफपीले पूर्वी नेपालमा शिविरहरु बसोबास गर्ने भुटानी शरणार्थीहरुलाई सन् १९९२ देखि खाद्यान्न सहयोग उपलब्ध गराउँदै आइरहेको छ । मानिसहरु विभिन्न देशमा पुर्नवासमा गएका कारण सुरुको १ लाख १७ हजार जनसंख्या सन् २००७ यता उल्लेखनीय रुपमा घटेको छ । अस्टे«लिया, क्यानडा, डेनमार्क, युरोपेली युनियन, यूएन सीइआरएफ र संयुक्त राज्य अमेरिकालगायतका धेरै दाताहरुले यतिका बर्ष उदारतापूर्वक सहयोग गर्दै आएका छन् । यद्यपि यो सहयोगलाई कायम गर्न नसक्ने दाताहरुले संकेत गरिसकेका छन् । विश्वका अन्य भागमा भइरहेको प्रमुख शरणार्थी संकटतर्फ यि दाताहरुको ध्यान गएको छ ।
खाद्यान्न असुरक्षाको वृद्धि वा नकारात्मक उत्थानशील संयन्त्रको कुनै चेतावनी संकेतहरुका लागि डब्लुएफपी र साझेदारहरुले निरन्तर रुपमा अवस्थाको अनुगमन गरिरहनेछन् ।
आपतकालीन परिस्थितिमा खाद्यान्न सहयोग उपलब्ध गराउँदै समुदायको समुत्थानशक्ति निर्माणका लागि काम गर्दै विश्वव्यापी भोकमरी विरुद्ध लड्दै आएको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) विश्वको सबैभन्दा ठूलो मानवीय सहायता संस्था हो । हरेक वर्ष डब्लुएफपीले ७५ राष्ट्रमा करिव ८ करोड मानिसलाई सहयोग पुर्याउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस