शहर शहरमा भँगेराको खोजी
संसारभरीबाट घट्दै गएका भँगेराको खोजी शहर शहरमा भइरहेको छ । आधुनिक संरचनाको कारण शहरबाट लोप हुँदै गएको भँगेरा खोजी गर्न थालिएको छ ।
हामीले निर्माण गर्ने संरचनामा आएको परिवर्तनले भँगेराको बासस्थान संकटमा परेको र वासस्थानको अभावमा भँगेरा लोप हुँदै गएको निष्कर्ष चराविद्हरुले निकालेका छन् । शहरी क्षेत्रमा बनेका नयाँ संरचनासँगै भँगेरा लोप हुँदै गइरहेका छन् । घरमा बस्ने भँगेराले गुँड बनाउँदैनन् । यिनिहरु घरका भित्तामा, छानामा भएका प्वालमा बस्छन् । चराविद् ज्योतेन्द्र ठकुरीले भने, ‘सिमेन्टले बनेका आधुनिक घरमा न भँगेरालाई बस्ने ठाउँ छ, न चारो खोज्नकालागि उपयूक्त ठाउँ छ । यसकारणपनि भँगेराहरु शहरी क्षेत्रबाट लोप भइरहेको अवस्था छ ।’
पहिला पहिला धेरै भँगेराहरु पाइन्थे, सानो घर हुँदा पनि धेरै भँगेरा बस्थे अहिले ठुला ठूला संरचना बनेका छन् तर भँगेराको संख्या भने दिनप्रतिदिन घट्दै गइरहेका छन् ।
पंक्षी संरक्षण संघ (बिसिएन) ले भँगेरा दिवसको अवसरमा घरघरबाटै भँगेरा गणना गरेको छ । काठमाडौं, पोखरा, बुटवलका विभिन्न ठाउँबाट भँगेरा गणना गरिएको छ ।
काठमाडौंको नयाँ बानेश्वरबाट पंक्षीविद् ज्योतेन्द्र ठकुरीले घरमा बस्ने भँगेरा र रुखमा बस्ने भँगेराको गणना गरेका थिए । उनका अनुसार बानेश्वर क्षेत्रमा १२ ओटा घरमा बस्ने भँगेरा र ४ ओटा रुखमा बस्ने भँगेरा पाइएको छ । काठमाडौंमा पाइएको यो भँगेराको संख्या निकै कम हो । ठकुरीका अनुसार ‘पहिला पहिला धेरै भँगेराहरु पाइन्थे, सानो घर हुँदा पनि धेरै भँगेरा बस्थे अहिले ठुला ठूला संरचना बनेका छन् तर भँगेराको संख्या भने दिनप्रतिदिन घट्दै गइरहेका छन् ।’
यसैगरी ललीतपुरको भैंसेपाटीबाट गरेको गणना अनुसार घरमा पाइने भँगेरा २० र रुखमा पाइने भँगेरा १० मात्र पाइएको छ । उपत्यकामा मात्र होइन, नेपालका अन्य भुभागमा पनि भँगेराको संख्या न्यून देखिन्छ । भँगेरा दिवसकै अवसर पारेर बुटवलमा पनि भँगेरा गणना गरिएको थियो । यो क्षेत्रमा पनी घरमा बस्ने भँगेरा धेरै कम मात्रामा पाइएको छ । बिसिएनले तयार गरेको तथ्यांक अनुसार यो क्षेत्रमा १५ वटा मात्र घरमा बस्ने भँगेरा पाइएको छ । यसैगरी पोखरामा दुईठाउँबाट भँगेरा गणना गरिएको थियो जसमा एकठाउँबाट ४५ र अर्कोठाउँबाट ४० गरी जम्मा ८५ भँगेरा गणना भएका छन् ।
पछिल्लो समय नेपालबाट मात्र होइन संसारबाट नै भँगेराहरु हराइरहेका छन् । भँगेरा दुई किसिमका हुन्छन् एकथरी घरमा बस्छन् भने अर्कोथरी रुखमा बस्ने गर्छन् । जंगलमा बस्ने अरु चरालाई शहरीकरणको धेरै असर नपरेपनि मान्छेकै घरमा बस्ने भँगेरालाई आधुनिक घरमा आफू बस्ने प्वाँल नहुँदा समस्या भएको देखिन्छ । बढ्दो सहरीकरण, प्रदुषण र आधुनिक खेती प्रणालीका कारण विश्वभरि नै भँगेरालाई असर परेको छ । केही अध्ययनहरुले मोबाइल फोन र यसका टावरको रेडिएसनका कारण भँगेरालाई बाँच्न कठिन भएको निष्कर्ष समेत निकालेका छन् । यी विविध कारणले पछिल्लो समय भँगेराको संख्या दिनदिनै कम भइरहेको छ ।
‘भँगेरा गाडा खैरो कलरको भाले र अलि फुस्रो चाहि पोथी हुन्छ’, ठकुरीले भने । भाले भँगेरा पोथी भँगेराको तुलनामा अलि बढि चहकिलो रङको हुने गर्छ । भँगेरा जीवनकाल सम्म दुइ किलोमिटर भन्दा टाढा उडेर जाँदैन । करीब तीनबर्षसम्म बाँच्ने भँगेराको तौल ४० ग्रामसम्म हुने गर्दछ । हेर्दा सानो देखिएपनि भँगेराले पारिस्थितिकीय (इकोसिस्टम) प्रणलीमा महत्वपुर्ण भुमिका खेल्दै आइरहेको छ । बालीमा लाग्ने कीरा खाने हुनाले यसले किसानहरुलाई समेत सहयोग गर्दै आइरहेको छ ।
भँगेरा दिवस विशेषगरी भँगेरा संरक्षणको लागि मनाउने गरिन्छ । हरेक वर्ष मार्च २० मा विश्व भँगेरा दिवस मनाईन्छ । नेपालमा भँगेरा दिवस सन् २०१२ मा पहिलो पटक मनाइएको थियो । विश्व भँगेरा दिवस सन् २०१० देखी भारतबाट मनाउन सुरु गरिएको हो ।
मानिसको बढ्दो आधुनिकीकरण र सहरीकरणको जीवन शैलिका कारण भँगेराकोे बासस्थानमा कमी हुन थालेको विभिन्न अध्ययनको निष्कर्ष छ । विश्वमा ३२ प्रजातिका भँगेरा पाइन्छन् त्यसमध्ये नेपालमा घर भँगेरा, रुखभँगेरा, कैलो टाउके भँगेरा, पितकण्ठे भँगेरा र स्पेनिस भँगेरा गरी पाँच प्रजातिको भँगेरा पाइन्छ ।
प्रतिक्रिया दिनुहोस