इजरायल आक्रमणमा कृषि पढ्न गएका नेपाली विद्यार्थी पनि परे, १० को मृत्यु (नामसहित)

काठमाडौं — दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबै छात्र हुन् । ती विद्यार्थीहरूको शनिबार दिउँसोबाट नेपाली दूतावाससँग सम्पर्क टुटेको थियो ।

इजराइलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । यसको जाककारी परराष्ट्र मन्त्रालयलाई गराइएको उनले कान्तिपुरलाई बताइन् ।

एक जना बेपत्ता छन् । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।

यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ४९ जना विद्यार्थीहरुलाई ६ वटा समूहमा बिभाजन गरी अलग–अलग कृषि फार्ममा पठाएका थिए । ३२ जना कृषि विद्यार्थीहरु भने बिभिन्न कृषि फार्ममा रहेको वंकरमा सुरक्षित छन् ।

आफूहरुमाथि आक्रमण हुने बित्तिकै घाइते विद्यार्थीहरुले नजिकको फार्ममा रहेका साथीहरुलाई उपचारको प्रबन्ध गर्न खबर गरेका थिए । ती साथीहरुले तुरुन्तै एम्बुलेन्सलाई खबर गरेका थिए । एम्बुलेन्सले तत्काल उद्धार गर्न सकेन ।

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँरहेका र मृत्यु भएकाहरूको विवरण पठाए पनि परराष्ट्र मन्त्रालयले भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

क–कस्को भयो मृत्यु ?
१) नारायणप्रसाद न्यौपाने, घोडाघोडी–४, कैलाली
२) गणेशकुमार नेपाली, जयपृथ्वी–६, बझाङ
३) आशिष चौधरी, बौनिया–३, कैलाली
४) दिपेशराज विष्ट, लेकम–५, दार्चुला
५) आनन्द साह, सपही–६, धनुषा
६) राजेशकुमार स्वर्णकार, मधुवन–१, सुनसरी
७) राजन फुलारा, पचनली–३, डोटी
८) पदम थापा, लामिखाल–८, डोटी
९) प्रवेश भण्डारी, शारदा–३, सल्यान
१०) लोकेन्द्र सिं धामी, मालिकार्जुन–४, दार्चुला

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics