इजरायलमा किन जान्छन् नेपाली विद्याथी, सहज छ ‘लर्न एन्ड अर्न’ कार्यक्रम ?

काठमाडौं – इजरायलमा हमासले गरेको आक्रमणमा यसै सात १० नेपालीले ज्यान गुमाए । नेपालीमा सिक र कमाऊ अर्थ लाग्ने ‘लर्न एन्ड अर्न’ कार्यक्रममा त्यहाँ पुगेका विद्यार्थी मध्ये १० जना नेपाली विद्यार्थी उक्त घटनामा परे । यो घटना पछि इजरेल पठाइने विद्यार्थीहरूको सुरक्षाबारे नेपालमा प्रश्न उठेको छ ।

बीबीसीका अनुसार यही योजनामा इजरेल पुगेर फर्किएका कम्तीमा दुईजना विद्यार्थीले यस्तो कार्यक्रममा जाने विद्यार्थीको अवस्थाबारे विश्वविद्यालय र सरोकारवाला निकायले बेवास्ता गर्ने गरेको बताएका छन् ।

पछिल्ला वर्षमा कृषि विषयमा अध्ययनरत विद्यार्थीहरूका लागि इजरेलको यो योजना कृषि प्रविधि सिक्न जाने अवसरको रूपमा लिइने गरिएको छ । काठमाडौंस्थित इजरेली दूतावासले यसमा समन्वय गर्नुका साथै विश्वविद्यालयसँगको सहकार्यमा सहभागीहरूको छनौट गर्ने गरेको छ ।

यो कार्यक्रममा सहभागिताका लागि छानिएका विद्यार्थीहरूले इजरेलमा ११ महिना काम सिक्ने र अभ्यास गर्ने अवसर पाउँछन् । यसमा नेपालबाट मात्रै नभएर अन्य देशहरूबाट पनि विद्यार्थी जाने गरेको इजरेलका लागि नेपालका पूर्वराजदूत निरन्जन थापाले बताए । ‘त्यहाँ पढ्न पनि पाए र प्रयोगात्मक सीप पनि पाए । सँगसँगै केही उनीहरूलाई आम्दानी पनि हुन्छ,’ उक्त कार्यक्रमबारे थापाले भने ।

यसअघि साना किसानहरू पनि जाने गरेको यो कार्यक्रममा पछिल्ला वर्षमा कृषि अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूलाई अन्तिम सेमेस्टरको पढाइ सकिएपछि पठाइने गरिएको छ । यहाँबाट जाने नेपालीहरूले एक दिन कक्षाकोठामा पढ्नबाहेक बाँकी समय फार्ममा काम गर्छन् ।



पहिला साना किसानले यसको छनौट गर्थ्यो भने अहिले कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले दूतावासको समन्वयमा यसका लागि विद्यार्थीहरू छनौट गर्ने गरेका छन् ।

इजरेलबाट फर्किएका विद्यार्थी प्रदीप थापाले विश्वविद्यालयले आफ्ना विद्यार्थीहरू कुन ठाउँमा छन् र के काम गर्छन् भन्ने बारे सामान्य जानकारी पनि विश्वविद्यालयले नराख्ने गरेको दाबी गरेका छन् । ‘सामान्य जानकारीबिना नै विद्यार्थीहरूलाई इजरेल पठाउँछ । अघिल्लो वर्ष हामी इजरेलमा हुँदा एक पटक पनि विश्वविद्यालयले हामीलाई के छ भनेर पनि सोधेन,’ उनले भने ।

गत अगस्टमा इजरेलबाट फर्किएका अभिषेक न्यौपानेले पनि हाल आक्रमण भएको ठाउँमा गत वर्ष पनि नेपाली विद्यार्थीहरू रहेको बताए । ‘..धेरैले दुःख पनि पाएका छन्, कम्तीमा अनुगमन भए पनि गर भनेर कति भनेका थियौँ । दुखः पाएको, एग्रीमेन्ट पालना नभएको भिडिओहरू बनाएर पठायौँ, आआफ्ना भाइबहिनी हरूलाई नपठाउन अनुरोध ग¥यौँ,’ विश्वविद्यालयले त्यहाँ पठाइने विद्यार्थीको सुरक्षा र अवस्थाबारे ध्यान नदिएको गुनासो उनले गरे ।

यो कार्यक्रमअन्तर्गत इजरेलमा विद्यार्थी पठाउनेमध्येको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भने यसअघि नेपाली विद्यार्थीहरूको सुरक्षाबारे समस्या नदेखिएको दाबी गरेको छ । ‘यो नयाँ कार्यक्रम होइन । यसअघि साना किसानबाट धेरै नेपालीहरू गएका हुन् । तर त्यहाँको अवस्था कस्तो छ भनेर विश्वविद्यालयबाट अनुगमनमा चाहिँ अहिलेसम्म जान पाएका थिएनौँ,’ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयकी रजिस्ट्रार शारदा थपलियाले भनिन् ।

इजरेल कृषि प्रविधिमा अग्रणी देश मानिन्छ । नेपालमा धेरै मानिसहरू कृषिमा निर्भर रहेका कारण इजरेलले त्यहाँका कृषि फर्महरूमा नेपालबाट पनि विद्यार्थी र किसानहरू लैजाने गरेको पूर्वराजदूत निरन्जन थापा बताउँछन् । ‘त्यहाँ खेतीपातीमा काम गरे बापत उनीहरूलाई फाइदा पनि हुने भइहाल्यो । त्यसबापत नेपालीहरूले पनि ११ महिनामा १० लाख आसपास कमाउँछन्,’ उनले भने । तर इजरेलबाट फर्किएका एक पूर्वविद्यार्थीले प्रतिमहिना एक लाख आम्दानी हुने आश्वासन दिइने गरिएको भए पनि आफूहरूले कुनै कुनै महिना ३० हजार मात्रै कमाइ गरेको बताए ।



हरेक वर्ष नेपालबाट २५० देखि २६० जनासम्म यस्तो कार्यक्रममा जाने गरेको उनले बताए । ‘इजरेलमा जानेबुझेका कुरा कतिपयले त्यहाँबाट फर्किएपछि नेपालमा पनि प्रयोग गरिरहेका छन्,’ उनले भने । नेपालसहित अन्य देशबाट पनि इजरेलमा जाने विद्यार्थीहरू त्यहाँको दुर्गम क्षेत्रका कृषि फार्महरूमा जाने गरेको बताइन्छ ।

‘कृषि हुने ठाउँ भनेको दुर्गम क्षेत्र नै हुने भयो । गाजा नजिकका क्षेत्रमा पहिले पनि घटनाहरू हुने भए पनि सुरक्षित नै थियो,’ पूर्वराजदूत थापा भन्छन् । पछिल्लो घटनापछि भने नेपालले त्यहाँ काम गर्ने नेपाली नागरिकहरूको अवस्थाबारे विचार गर्नुपर्ने उनी बताउँछन् । ‘जतिसक्दो छिटो सरकारले ज्यान बचाउनेतिर लाग्नु प¥यो । अवस्था सामान्य नभएसम्म त्यहाँ पठाउनु पनि भएन,’ उनले भने । उनी नेपालमै त्यस्ता प्रविधि र सीप सिकाउनुपर्ने योजना सरकारले अघि बढाउनुपर्ने सुझाव दिन्छन् । - बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics