वन्यजन्तुबाट पीडित किसानलाई निकुञ्जले राहत दिने

रसुवा– वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ ।

यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भूभागमा गत महिना जङ्गली बँदेलले मकैबालीलाई नोक्सानी पुर्‍याएको थियो । स्थलगतरूपमा क्षतिको मूल्याङ्कन गराइ राहत प्रदान गरिने निकुञ्जले जनाएको छ ।

राहतको लागि रसुवाबाट ७०, नुवाकोटबाट ४० र सिन्धुपाल्चोकबाट २० आवेदन परेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

बँदेल, भालु, बाँदरजस्ता जनावरले मकै, कोदो, आलुलगायतका अन्नबाली नोक्सान पुर्‍याउने गरेको छ । राहत वितरणको लागि सरकारले तोकिदिएको मापदण्ड तथा क्षतिको प्रमाणका आधारमा मूल्य निर्धारण गर्दै किसानलाई बैंक खातामार्फत राहत प्रदान गरिने उनको भनाइ छ ।

गत वर्ष अन्नबाली तथा चौपाया क्षतिको राहतस्वरूप रु १९ लाख ३४ हजार एक सय १७ भुक्तानी भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics