२०,००० वटा फुटबल मैदानजत्रो ठाउँमा फैलिएको छ संसारकै ठूलो वनस्पति

काठमाडौं – अस्ट्रेलियाको समुद्री तटनजिकै समुद्रमा फेला परेको एउटा घाँस अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो वनस्पति भएको पुष्टि भएको छ ।

उक्त समुद्री घाँस अमेरिकाको म्यान्हटन सहरको क्षेत्रफलको तीनगुना ठूलो ठाउँमा फैलिएको छ । आनुवंशिक परीक्षणबाट वैज्ञानिकहरूले पश्चिमी अस्ट्रेलियाको समुद्रमा अवस्थित एउटा विशाल घाँसे मैदान वास्तवमा एउटै वनस्पतिबाट बनेको निर्क्योल गरेका हुन् ।

एउटै बीजबाट उम्रिएर उक्त वनस्पति ४,५०० वर्षको अवधिमा फैलिएको वैज्ञानिकहरूको विश्वास छ । उक्त घाँसले झन्डै २०० वर्ग किलोमिटर क्षेत्रफल ढाकेको यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले बताएका छन् ।

वैज्ञानिकहरूको उक्त समूहले संयोगवश वनस्पतिको इतिहासबारे यस्तो तथ्य पत्ता लगाएका हुन् । पर्थबाट झन्डै ८०० किलोमिटर उत्तरमा अवस्थित शार्क बेमा यो वनस्पति छ । यो २० हजार वटा फुटबल मैदानजत्रो ठाउँमा फैलिएको छ ।



कसरी पत्ता लाग्यो
वैज्ञानिकहरूले रिबन वीड भनिने उक्त प्रजातिको घाँसको आनुवंशिक विविधता बुझ्ने योजना बनाएका थिए । त्यसका लागि उनीहरूले शार्क बेबाट हाँगाका नमुनाहरू संकलन गरे । यो घाँस अस्ट्रेलियाको समुद्री तटमा यत्रतत्र पाइन्छ । प्रत्येक नमुनाको फिङ्गरप्रिन्ट बनाउन उनीहरूले १८,००० वटा आनुवंशिक चिह्न (जनेटिक मार्कर) को परीक्षण गरे ।

उक्त घाँसे मैदानमा कतिवटा वनस्पति छन् भने पत्ता लगाउनु उनीहरूको उद्देश्य थियो । ‘उत्तरले हामीलाई तीनछक्क पा¥यो – त्यहाँ केवल एउटा थियो !’ उक्त शोधकी प्रमुख लेखिका जेन एज्लोले भनिन्, ‘एउटै वनस्पति शार्क बेमा १८० किलोमिटर परसम्म फैलिएको छ । त्यसैबाट यो पृथ्वीमा थाहा भएको सबैभन्दा ठूलो वनस्पति हो ।’

के हुन् यसका विशेषता ?
दह्रिलोपनका लागि पनि यो वनस्पति परिचित छ । यो उम्रिएको स्थानको अवस्थामा चरम हुन्छ र त्यो स्थिर रहँदैन । “यो एकदमै ज्याद्रो हुन्छ । तापमान र नुनको विभिन्न मात्रा तथा एकदमै धेरै उज्यालो हुँदा अधिकांश वनस्पतिहरू एकदमै ठूलो तनावपूर्ण अवस्थामा हुन्छन्,“ अनुसन्धानकर्ता डा. एलिजाबेथ सिन्क्लेअरले भनिन् । यो प्रजातिको घाँस प्रायः एक वर्षमा ३५ सेन्टिमिटर बढ्छ ।

त्यसकै आधारमा वैज्ञानिकहरूले ४,५०० वर्ष बढ्दा यो वनस्पति अहिलेको आकारमा आइपुगेको अनुमान गरेका हुन् । यसबारे वैज्ञानिक जर्नल ’प्रसीडिङ्स अफ द रोयल सोसाइटी बी’ मा एउटा शोधपत्र प्रकाशित भएको छ । - एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics