अब मनसुन पूर्ण रूपमा बाहिरिएको हो ? दशैंमा छाता बोक्ने कि नबोक्ने ?

काठमाडौं – गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन गए रातिबाट पूर्णरूपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो ।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन सयम अक्टोबर २ तारिख हो । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो ।

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भूभाग भएर यही असोज १९ गते यसवर्षको मनसुन बाहिरिएको थियो । असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भूभाग तथा बागमती प्रदेश र मधेश प्रदेशका आंशिक भूभागबाट बाहिरिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशको पश्चिमी भूभागबाटसमेत मनसुन बाहिरीसकेको छ । ‘मनसुन पूर्णरुपमा बहिर्गमन हुने अवस्थामा छ’, महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, ‘साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ ।’ उनका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ ।

मधेस र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आगामी दिनदिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए । अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भूभागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईका अनुसार नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । या मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो ।

नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको हो । काठमाडौंमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको एक सय नौ प्रतिशत हो ।

काठमाडौंमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ । त्यसैगरी ओखलढुंगामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम जनकपुरमा छ सय ३७ दशमलव एक मिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलव आठ मिलिमिटर हो ।

के दशैं अवधिमा पानी पर्न सक्छ ?
मनसुन लम्बिएकाले कतै यसपालि ‘हिले दशैँ’ हुन्छ कि भन्ने जिज्ञासा सर्वसाधारणमा देखिन्छ । तर यस वर्ष अक्टोबर २४ मा विजया दशमी अर्थात् दशैँको टीका परेको छ । अधिकमासका कारण यसपालि दशैँ पोहोरभन्दा तीन साता ढिलो सरेको हो । दशैँसम्म मनसुनी वर्षा कायम रहने सम्भावना चाहिँ ‘सामान्यतः नहुने’ मौसमविद्हरू बताउँछन् ।

मौसमविद्हरूका अनुसार वायुमण्डलमा मनसुन बाहिरिइनसकेको अनि अर्कोतर्फबाट पश्चिमी न्यूनचापीय प्रणाली सुरु हुने बेलाको ‘सङ्क्रमण’ले गर्दा कहिलेकाहीँ ठूलो वर्षा हुने गरेको पाइन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics