बेमौसमी वर्षाले धानबालीमा क्षति

मनहरी– बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । मंगलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन् । सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए ।

उनले भने, ‘मंगलबार बिहानपख करिब २ बजे हावासहितको वर्षाले पाकेको धानबालीमा क्षति पुर्‍याएको छ । धान भित्र्याउन जुटेका किसान बाली नोक्सान भएपछि चिन्तित छन् ।’ अझै वर्षा भएमा पाकेको धानबाली खेतमै कुहिने चिन्ता बढेको उनले बताए ।

किसान विष्णुकुमारी बजगाईँले पाकेको धान काटेर खेतमा सुकाएको जनाउँदै बेमौसमी पानीले धान र पराल दुवैमा असर गरेको बताइन् । वर्षभरी खाने उपजमा वर्षाले क्षति गरेपछि किसान चिन्तित भएका उनको भनाइ थियो ।

गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले हावासहित आएको पानीले पालिकाभित्रका विभिन्न स्थानमा धानबालीमा क्षति पुगेको बताए । मकवानपुरगढीका साथै मनहरीको रजैया, ज्यामिरे, सिमपानी, हाडीँखोला क्षेत्रमा पनि धानबालीमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics