बाहुनडाँगीमा सामूहिक फूलखेती

झापा - मेचीनगर नगरपालिका-४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ ।

मेचीनगर -४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको समिति नै बनाएर सामूहिक फूल खेती गरेको बताए ।

उनले वडाका हरेक नागरिकले घर-घरमै आफूलाई पुग्ने गरी सयपत्री फूल लगाएको र अपुगमा वडाले समेत खेती गरेका कारण यस वर्षको तिहारमा भारतबाट फूल आयात गर्नु नपर्ने बताए ।

उनका अनुसार वडाले आफ्नै खर्चमा करिब १० कठ्ठा जमिनमा सयपत्री र मखमली फूलको खेती गरेको छ ।

फूलमा कोपिला लाग्न सुरु गरेकाले तिहारमा ढकमक्क फुल्ने उनले बताए । वडा फूलमा आत्मनिर्भर बन्यो, विगतमा जस्तो तिहारमा माला खरिदका लागि भारतको पानी ट्याङ्की धाउनु पर्दैन”, उनले भने ।

मेचीनगर -९ का डिल्लीराम उप्रेतीले बिर्तामोड नगरपालिका-६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा व्यावसायिक फूलखेती गरेका छन् । उनले बाह्रै महिना सयपत्री फूलको खेती गरी आम्दानी गर्दै आएका छन् ।

उनको बारीमा फुल्न लागेको सयपत्री फूलको मालाको तिहारका लागि माग आउन थालेको उनको भनाइ छ ।

यसैगरी कमल गाउँपालिका-२ मा सुवेदी इन्स्टिच्युट कृषि फार्मले सात कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गरेको छ ।

फार्मका सञ्चालक प्रवीन आचार्यले पहिलो चरणमै पाँच सय बढी माला निस्कने बताए ।

उनले पहिलो पटक थाइल्यान्डबाट मगाएर हाइब्रिड जातका सयपत्री फूलको बीउ लगाएको बताए ।

जिल्लामा विभिन्न पालिकामा चाडपर्वलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गर्ने गरिएको छ ।

चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगत रूपमा फूलको व्यावसायिक खेती हुने गरेको हो ।

मेचीनगर, भद्रपुर, बिर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक बिघा जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती लगाएका छन् ।

विगतमा कृषि ज्ञान केन्द्रले समेत फूलको बेर्ना उत्पादनका लागि अनुदान प्रदान गर्दै आएको थियो ।

जिल्लाका विभिन्न स्थानमा फूलको सामूहिक र व्यक्तिगत रूपमा व्यावसायिक खेती भएता पनि कति क्षेत्रफलमा खेती छ र कति उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क कार्यालयसँग नभएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए ।

तिहारमा मात्र पूर्वीनाका काँकडभिट्टाबाट विगतमा रु. ६० लाख बढीको सयपत्री फूल माला आयात हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics