कागती फल्यो, पाएन बजार

स्याङ्जा– स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए ।

यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गर्न सकेका छैनन् । कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन् । उत्पादन भएको कागतीले बजार नपाउँदा उनी चिन्तित भएका हुन् ।

‘गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो’, उनले भने, ‘यस वर्ष सिजन (याम) मै बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।’

बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेलको भनाइ छ । ‘कसैले बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ’, उनले भने ।

स्थानीय बजारमा दैनिक १०–१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए । ‘दिनभर बजार डुलाउँदा मुस्किलले १०–१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ’, पौडेलले भने ।

पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन् ।

उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एक सय ५० कागतीका बोट लगाएका थिए । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् ।

आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ । उनले सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने बताए ।

विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो एक सय ३० देखि दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics