टिकटकमा जथाभावी अपलोड गरे ‘प्रहरी कारवाही’

काठमाडाैं - सरकारले सामाजिक सञ्जाल टिकटक दुरुपयोग गर्नेमाथी कारवाहीको तयारी गरेको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति प्रकाशित गर्दै जथाभाावी सामाग्री राख्नेलाई कानुनी कारवाही गर्ने जानकारी दिएको हो ।

'टिकटक लगायतका सामाजिक सञ्जाल हाम्रो व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अंग जस्तै बनेका छन् । यिनीहरूको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुराहरू जानकारी लिन–दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउँछ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्‌भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्दछन् ।’

सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्थासमेत हुने मन्त्रालयले जनाएको छ ।

त्यस्तो व्यवस्थाका लागि नेपाल प्रहरीको साइबर ब्यूरो लगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबीच सहकार्य गर्ने प्रकृया अघि बढेकाो हो ।
टिकटकमार्फत सामाजिक सद्‌भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्‌भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अतः जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्‌भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्नका साथै गैरकानूनी कार्य गरेबापत हुने कानूनी कारबाहीबाट बच्न मन्त्रालयले आग्रह गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics