‘पुतली बाजे’ को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो

पोखरा - कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।

सोमबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो । जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको थियो ।

पोखरा महानगरपालिकाले उनको सम्मानमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर संग्रहालयमा राखिएको महानगर प्रमुख आचार्यले बताए। उनले पुतली बाजे आफ्नो मिसनमा भएको र वातावरण, पर्यावरण र पुतलीको अध्ययन र विश्लेषण गर्ने काममा लागेको स्मरण गरे ।

उनले काठमाडौं र पोखरामा एक गरी तीन वटा पुतली संग्रहालय बन्नुमा स्मिथको ठूलो योगदान रहेको बताए । उनका योगदानलाई चिरस्थायी बनाउनु महानगरपालिकाको कर्तव्य भएको आचार्यले बताए ।

पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिबार उनको निधन भएको थियो । नेपालमा पाइने पुतली अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ । उनले पुतलीको खोजीमा ५० वर्ष बिताएका थिए । २०२२ सालमा बेलायतबाट युनाइटेड मिसन टु नेपालमार्फत पढाउन नेपाल आएका थिए ।

२०२३ मा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरेर ४० जिल्लाको भ्रमण गरी करिब २५ हजार पुतली संग्रह गरेका थिए ।

विश्वमा पाइने १७ हजार ५ सय प्रजातिका पुतलीमध्ये नेपालमा ६६० प्रजातिका भेटिएका छन् । ३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा बसे ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics