नेपालको त्यो भूकम्प, जुनबेला राजाकै मृत्यु भएको थियो

काठमाडौं – नेपालमा पछिल्लो समय आएका भूकम्पको भौतिक र मानविय क्षतिको विवरण प्राय राखिन्छ । १९९० सालको भूकम्पको क्षति सुन्न र पढ्न पाइन्छ । तर, सो समय अघि पनि धेरै भूकम्प गएका थिए, ठूला क्षति भएका थिए ।

इतिहासकारका अनुसार एक समयको भूकम्पले नेपालका एक राजाको नै मृत्यु भएको थियो । ती राजा हुन् अभय मल्ल । गोपालराजवंशावली अनुसार वि.सं. १३१२ को भूकम्पमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ ।

त्यस भैँचालो (भूकम्प)ले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ । त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकोले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ ।

भैँचालोकै कारण १५ दिन देखि एक महिनासम्म देश छाडेर बाहिर जानुपरेको विवरण ऐतिहासिक दस्तावेजमा पाइन्छ । वि.सं. १४०१ मा गएको भैँचालोलाई चाहिँ ठूलो भैँचालो भनेर गोपालराजवंशावलीमा लेखिएको छ । त्यो भैँचालो दशैँको फूलपातीका दिन गएको रहेछ ।



त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरण भेटिएको छ । त्यसबेला भक्तपुर शासनको केन्द्र थियो । तर, अरि मल्लको मृत्यु भने देउपाटन (पशुपतिक्षेत्र)मा भएको उल्लेख छ ।

त्यसबेला राजाहरूको राज्याभिषेक देउपाटनमा नै गर्ने चलन थियो । मृत्यु हुन लागेकाहरूलाई पशुपतिक्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देउपाटन लगिएको हुनसक्छ । वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भैँचालाहरू गएका विवरणहरू तथ्यसहित भेटिएका छन् ।

त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भैँचालो गएका हुन् । झन्डै आठ सय वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भैँचालोलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भैँचाला गएको देखिन्छ । कतिपय ऐतिहासिक विवरणहरूमा ती भैँचालाहरूले ठूलो क्षति पु¥याएको उल्लेख छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics