पाकिस्तानको पञ्जाब धुलो र धुँवाले ढाक्यो, ४ दिन सार्वजनिक बिदा

लाहोर– धुलो र धुँवा अत्याधिक बढे पछि पाकिस्तानको पञ्जाब सरकारले चार दिन बिदाको घोषणा गरेको छ । मंगलबार प्रान्तीय राजधानी लाहोरलगायत धेरै जनसङ्ख्या भएको प्रान्तका धेरै जिल्लाहरूमा धुवाँको प्रभावलाई कम गर्ने भन्दै चार दिने सार्वजनिक बिदाको घोषणा गरेको छ।

पञ्जाब सरकारको निर्देशन अनुसार नोभेम्बर ९ देखि १२ सम्म सार्वजनिक बिदा हुनेछ । ‘धुवाँको प्रभावलाई कम गर्न पन्जाबको लाहोर, गुजरनवाला र हाफिजाबाद डिभिजनमा चार दिन बिदाको घोषणा गरिएको छ,’ पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले पत्रकारसँग भने ।

यी डिभिजनमा वातावरणीय र स्वास्थ्य आपतकाल लगाइएकोसमेत उनले बताएका छन् । शैक्षिक संस्था, सार्वजनिक र निजी कार्यालय, रेस्टुरेन्ट, सिनेमा, पार्क र जिम बिहीबारदेखि आइतवारसम्म बन्द रहने उनले जानकारी दिए ।

शनिबार र आइतबार बजार र व्यापार केन्द्र बन्द रहनेछ। यद्यपि यो अवधिमा विवाह हल, औषधि पसल र बेकरी पसलहरू भने खुला रहनेछन्। उनका अनुसार यो बिदा यो साताका लागि मात्रै हो ।

वातावरण प्रदूषण र धुवाँ कम गर्न मुख्यमन्त्रीले बिदाको समयमा घरमै बस्न अपिल गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics