दक्षिण कोरियामा उडुस आतंक, नियन्त्रण गर्न सरकारले छुट्यायो ५ करोड बजेट

काठमाडौं – दक्षिण कोरिया अहिले परजीवी किरा उडुससँग जुधिरहेको छ । यहाँका अधिकारीहरूले देश भर चिन्ता निम्त्याएको उडुसको सङ्क्रमणसँग जुध्न संघर्ष गरिरहेको बताएका छन् ।

राजधानी सउल, इन्चोन र बुसान शहरमा नोभेम्बर ५ सम्ममा उडुस सङ्क्रमणका कम्तीमा १७ वटा प्रकोपजस्ता घटनाहरूको विवरण आएका छन् ।

दक्षिण कोरियाको सरकारले उडुससँग जुझ्नका लागि करिब ५ करोड १० लाख रुपियाँ बराबरको रकम नै छुट्याएको छ ।

दक्षिण कोरियाअघि फ्रान्स र यूकेमा पनि उडुसको प्रकोप देखिएको थियो र त्यसले कतिपय समुदायलाई आतङ्कित बनाएको थियो ।

गएको सेप्टेम्बरमा नै दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको एउटा विश्वविद्यालयमा उडुसको सङ्क्रमण देखिएको थियो ।

मान्छे र जनावरको रगत चुस्ने उक्त परजीवीको सङ्क्रमणपछि पर्यटकहरू बस्ने आवास र एउटा सार्वजनिक ’सोना’ घरमा देखिएको थियो ।

उडुसको डरले कैयौँ दक्षिण कोरियालीहरूले सिनेमा हलमा जान र सार्वजनिक बसहरू चढ्न छाडेका थिए । दक्षिण कोरियाको इडेली न्यूजले सउलकी बासिन्दा ३४ वर्षकी चोइले केही समयका लागि कपडाको खोलभएको सीट हुने रेल चढ्न छाडेको बताइन् ।

उक्त विवरण अनुसार उडुस अकस्मात् देखिनसक्ने डरले उनले आफ्नो घरभरी किटनाशक औषधि समेत छर्किएकी छन् । इडेली न्यूजले अर्का स्थानीयवासी सिओलाई उद्धृत गर्दै उनी आफ्नी प्रेमिकासँग केही समय घरमै बस्ने उल्लेख गरेको छ ।

हालैको प्रकोपभन्दा अघि दक्षिण कोरियाले सन् १९६० को दशकमा नै उडुसहरूलाई उन्मुलन गरेको ठानिएको थियो । उडुसले रोग नसार्ने भएपनि यस किराको टोकेपछि बेस्सरी चिलाउँछ । त्यसलाई कम गर्ने प्रयास गर्दा घाउ हुनसक्छ जसले सङ्क्रमण वा चोट पनि निम्त्याउछ ।

पखेटा बिनाको उक्त परजीवी ओछ्यानमा बस्ने गर्छ र त्यसले ठूलो मानसिक पीडा समेत दिनसक्छ । उडुसकाकारण मानिसहरूले असहज र अप्ठेरो महसुस गर्नुका साथै सुत्न पनि डराउँछन् ।

सउलका मानिसहरू सार्वजनिक स्वास्थ्य केन्द्रहरूमा गइरहेका छन् र उनीहरूले कुनै परजीवीले आफूलाई टोकेको या नटोकेको जाँच गराइरहेका छन् । - एसेन्सीकाे सहयाेगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics