भारतीय उपमहाद्वीपलाई युरेशिएन महाद्वीपले निल्यो, अनि गयो नेपालमा भूकम्प

काठमाडौं – भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ । भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन् ।

पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो । त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ । ‘भारत युरेशियामुनि जाँदैछ, तर प्लेटहरू अड्किएका छन्,’ भूकम्पबारे गरिएका अध्ययनमा संलग्न भएकी यूएसजीएसकी वैज्ञानिक सुजन हफ भन्छिन्, ‘तिनीहरू त्यत्तिकै चल्न सक्दैनन् । अड्किएरै बस्दा समयक्रममा तनाब सिर्जना हुन्छ र त्यो भूकम्पका रूपमा निस्किन्छ ।’

अमेरिकी संस्था नासासँग आबद्ध भू–भौतिकशास्त्री एरिक फील्डिङको आकलनमा पश्चिम नेपालमुनि सयौँ वर्षदेखि विकसित ऊर्जा निष्काशन हुँदा म्याग्निट्यूड ८.५ वा सोभन्दा ठूलो भूकम्प जान सक्छ । ‘पश्चिम नेपालको कुन भागमा ठूलो भूकम्प जान्छ भन्न सकिँदैन,’ हफ भन्छिन्, ‘तर धेरै समयदेखि भूकम्प नगएको हुँदा त्यो क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

तथ्यांकका आधारमा सम्भावनाका कुरा गर्न सकिए पनि भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी गर्न सम्भव छैन । तर, भूकम्प गएको ठाउँसँगै जोडिएका अरू खण्डमा भूकम्प जाने सम्भावनालाई वैज्ञानिकहरू अस्वीकार गर्दैनन् । ‘तर, त्यो भोलि नै जान्छ कि वा आजभन्दा १०० वर्षपछि जान्छ त्यो भन्न सकिँदैन,’ हफ भन्छिन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics