कौशलटारको एक घर कुनामा फेला पर्‍यो १०० किलोको चितुवा

काठमाडौं – मध्यपुरठिमी– ३ कौशलटार भक्तपुरमा फेला परेको चितुवा वन कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका छन् । एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई शुक्रबार विहान डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिन पुगेका डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीका अनुसार अहिले चितुवालाई डिभिजन वन कार्यालय भक्तपुरमा लगिएको छ । अधिकृत पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोलीले चितुवालाई नियन्त्रणमा लिन सफल भएको थियो ।

चितुवा वयस्क छ । पराजुलीका अनुसार चितुवा करिब ७–८ वर्षको र वजन पनि झण्डै एक सय किलोको छ । चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो । सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो । आक्रमणबाट दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो । लगत्तै वन अधिकृत पराजुलीसहितको टोली परिचालित भएको थियो । चितुवा कहाँबाट आयो भन्ने खुलेको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics