मुस्ताङमा च्याङ्ग्रा खोरमा पस्यो हिमचितुवा, सय बढी च्याङ्ग्रा मारिए

जोमसोम - मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ को ढाक्मर गाउँमा हिमचितुवाले आक्रमण गरी सयभन्दा बढी च्याङ्ग्रा मारेको छ। गएराति ढाक्मर गाउँ भित्रै खोरमा ४ वटा हिमचितुवा पसेर च्याङ्ग्रा मारेका बताइएको छ।

लोघेकर दामोदरकुण्ड—२ ढाक्मरका स्थानीय पशुपालक किसान मिङ्मार गुरुङले पालेका च्याङ्ग्रा खोरमा हिमचितुवाले विभत्स रुपमा च्याङ्ग्राहरु मारेका ढाक्मरका स्थानीय छिरिङ गुरुङले जानकारी दिए । शुक्रबार राति ४ वटा हिमचितुवा मिङ्मार गुरुङको खोरमा पसेर करिव ३० लाख मुल्य बराबरको च्याङ्ग्रा क्षति बनाएको स्थानीय गुरुङले बताए।

हिमचितुवा खोरमा पसेर ठुलो संख्यामा च्याङ्ग्रा मारेपछि स्थानीय पशुपालक किसान मिङ्मार गुरुङ अहिले चिन्तामा छन् । उनले गाउँभित्रको खोरमा तारबारसहितको च्याङ्ग्रा हुल्ने गोठ थियो । तर, तारबार सहितको खोर नाघेर हिमचितुवाले च्याङ्ग्रा मारेर छाडेको हो ।

च्याङ्ग्रा खोरमा पसेर केही च्याङ्ग्राको आन्द्राभुडी निकालेर छोडेको छ भने केहीको रगत खाएर मारेको देखिन्छ । मुस्ताङमा हिमचितुवा र मानवबीचको निरन्तर द्वान्द्व रहे पनि यो अहिलेसम्मकै धेरै पशु क्षतिमध्ये एक हो ।

ढाक्मरमा हिमचितुवाले च्याङ्ग्रा मारेको खबर पाएपछि लोघेकर दामोदरकुण्ड—१ चराङबाट प्रहरीको टोली घटनास्थलमा जाँदै छ । ढाक्मरका स्थानीयले जनप्रतिनिधि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप (लोमान्थाङं)लाई खबर गरेको छ । एक्याप र जनप्रतिनिधि टोली पनि ढाक्मरतर्फ जाँदै छन्।

हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । मुस्ताङमा हिमचितुवा कति छन् भन्ने एकिन तथ्यांक छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics