हिमनदीमा २,००० वर्षदेखि जमेको बरफ तीव्र गतिमा किन पग्लिरहेको छ ?

काठमाडौं - जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक अध्ययनले औँल्याएको छ।

यूनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरुले विश्वको सर्वोच्च हिमालमा अवस्थित 'साउथ कोल ग्लेसीअर' विगत २५ वर्षमा ५४ मिटर (१८० फिट) घटिसकेको पत्ता लगाएका छन्।

समुद्रको सतहभन्दा झन्डै ७,९०६ मिटर उचाइमा रहेको उक्त हिमनदीमा पहिलो पटक बरफ जम्न लागेको समयभन्दा बरफ पग्लिने गति ८० गुना चाँडो छ।

बढ्दो तापमान तथा तीव्र गतिमा चल्ने हावाका कारण तीव्र गतिमा बरफ पग्लिँदै र पातलिँदै गएको मानिएको छ।

अध्ययनमा सहभागी वैज्ञानिकहरूले झन्डै २,००० वर्ष लागेर बनेको बरफ सन् १९९० को दशकयता पग्लिएको पत्ता लगाएका छन्।

उनीहरूले हिमनदीमा रहेको बाक्लो हिउँथुप्रो खिइएको र त्यसको तल अवस्थित "कालो बरफ" बाहिर देखिएकाले घाम पर्दा पग्लिने प्रक्रिया झन् तीव्र भएको बताएका छन्।

प्रमुख शोधकर्तामध्येका एक डा. मारियुस पोटोस्कीका अनुसार अध्ययनको निष्कर्षले "साउथ कोल हिमनदी सम्भवतः मासिने क्रममा रहेको" सङ्केत गरेको बताए। उनका अनुसार यो पहिला अझ चिसो समयको अवशेष भएको हुनसक्छ।

उक्त रिपोर्टका अर्का लेखक तथा किङ्स कलेज लन्डनका जलवायु वैज्ञानिक डा. टम म्याथ्यूजले बरफ ह्वात्तै पग्लिनेगरी उक्त क्षेत्रको मौसममा कुनै पनि परिवर्तन नदेखिएको बताए।

"बरु तापमानमा सामान्य वृद्धिले हिमनदीलाई यस्तो बिन्दुमा पुर्‍याइदिन्छ कि अचानक सबै कुरा परिवर्तन हुन्छ," उनले भने।

हिमनदी पग्लिएको विषयमा व्यापक रूपमा अध्ययन गरिएको भए पनि यो उचाइमा रहेका हिमनदीहरूमा जलवायु परिवर्तनको प्रभावबारे भने विगतमा अध्ययन गरिएको थिएन।

दश वैज्ञानिक सम्मिलित टोली उक्त हिमनदीमा पुगेको थियो ।
त्यहाँ उक्त टोलीले मौसमको अनुगमन गर्ने दुईवटा वेदर मनिटरिङ स्टेशन स्थापना गरेका थिए। ती स्टेशन विश्वमै सबैभन्दा अग्लो स्थानमा स्थापित भएको मानिन्छ।

वैज्ञानिकहरूले हिउँको १० मिटर लामो 'आइस कोर"बाट नमुनाहरू सङ्कलन गरे। टोली नेता डा. पोल मायेव्स्कीले उक्त अध्ययनबाट धेरै उचाइमा हुने तुलनात्मक रूपमा साना परिवर्तनप्रति पृथ्वीको संवदेनशीलताबारे पहिला थाहा नभएका कुराहरू पत्ता लागेको बताए।
- बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics