कोशी टप्पुमा रमाउँदै विदेशी चरा

विराटनगर - सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने क्रम सुरु भएको छ । दुर्लभ चराहरूको बासस्थान मानिने कोशीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरू आउने गरेका छन् ।

चखेवा, जल हाँस, बिजुला गोइरी, श्वेत आँखी भुईँलगायत जातका चरा कोशीटप्पु क्षेत्रमा देखिएका छन् । यसैगरी ट्याकट्याके, बेल्चाढुँडे हाँस, सुडसुडियाजस्ता चरा देखिन थालेको आरक्ष कार्यालयले जनाएको छ ।

मंसिर महिना लागेसँगै चराहरूको आउने क्रम सुरु भएको आरक्षका अधिकारीहरूले जनाएका छन् । चराहरू आउने क्रम माघ दोस्रो सातासम्म रहन्छ ।

केही वर्ष अघिको तुलनामा अचेल उल्लेख्य संख्यामा भने चराहरू देखिएका छैनन् । आरक्ष क्षेत्रमा रहेका सिमसारहरू सुक्दै जानु, चराको आहारा र बासस्थान मासिनु जस्ता कारणले चरा आगमन प्रभावित भएको स्थानीय जानकारहरूको भनाइ छ ।

नेपालमा ८ सय ८८ प्रजातिका चरा पाइने गरेको तथ्याङ्क छ । तीमध्ये कोशीटप्पु आरक्ष क्षेत्रमा मात्रै ५ सय २३ भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । हा“सका मात्र ३४ प्रजाति नेपालमा पाइन्छ । यस क्षेत्रमा विश्वमै सङ्कटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पाइन्छन् ।

हिउँदका बेला विभिन्न देशबाट एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेको आरक्षले जनाएको छ । चरा र वन्यजन्तु अवलोकन तथा अध्ययन गर्न देश तथा विदेशका आगन्तुकहरू आरक्ष क्षेत्रमा आउने गरेको सुनसरीको वराहक्षेत्रका भीष्म अधिकारी बताउँछन् ।

सिमसारहरू व्यवस्थित गर्दै चरा र वन्यजन्तुहरूको संरक्षणका लागि केन्द्रीयदेखि स्थानीय सरकारले ठोस योजना ल्याउनुपर्ने स्थानीय बासिन्दाहरूले बताउँदै आएका छन् । यसैगरी आरक्ष क्षेत्रमा रहेका जलाशय र सिमसारमा रहेका माछा स्थानीय बासिन्दाले सङ्कलन गर्ने भएकाले चराको आहारामा कमी आएको हो ।

सिमसारहरू सफाइ गर्ने, पानी निरन्तर उपलब्ध हुने व्यवस्था गर्ने जस्ता काम आवश्यक रहेको जनाइएको छ । स्थानीय जनप्रतिनिधि भने स्थानीय सरकारको अधिकार र बजेट कटौती जस्ता कारणले चाहेर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा संरक्षणको काम अपेक्षित रूपमा गर्न नसकिएको बताउँछन् ।

पर्याप्त बजेट र अधिकार दिइए आरक्ष क्षेत्रको विकासमा स्थानीय सरकारले गर्न सक्ने काम धेरै रहेको सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको भनाइ छ ।

२०६५ भदौ २ गते कोशी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएपछि पनि चराको बासस्थान प्रभावित भएको थियो । त्यसयता आरक्ष क्षेत्र आसपास मानवीय गतिविधि बढ्नुले पनि प्रभाव परेको जनाइएको छ ।

चराको स्वर्ग भनेर चिनिने कोशीटप्पुमा चरा गणना पनि गर्ने गरिएको छ । चराविज्ञ र प्राविधिकसहितको टोली सहभागी भएर हालसम्म ३३ पटक आरक्ष क्षेत्रका चरा गणना गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics