पाल्पामा पहिलो पटक सुन्तला महोत्सव

पाल्पा - पाल्पामा पहिलो पटक आज एक दिने सुन्तला महोत्सव गरिएको छ । सुन्तलाको बजार प्रवर्द्धन र सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको आयोजक रिब्दिकोट गाउँपालिका-७ वडा कार्यालय, पालुङ्मैनादीले जनाएको छ ।

मेलाको व्यवस्थापन तथा समन्वय गरिरहेको मैनादी कृषि सहकारी संस्थाका अनुसार प्रभात माविको प्राङ्गणमा आयोजना गरिएको सुन्तला महोत्सवमा सुन्तलाका स्टल, विभिन्न जातका सुन्तलाका बिरुवा तथा आवश्यक यन्त्र उपकरणको प्रदर्शन, नि:शुल्क माटो परीक्षण, नमुना सुन्तला बगैँचा अवलोकन, सुन्तलाको जुस, जाम, सलाद प्रदर्शन गरिएको छ ।

मेलामा सुन्तला खाने प्रतियोगिता, कृषि पर्यटनको नमुना टोल प्रदर्शन, पहिलो व्यावसायिक खेती गर्ने किसान सम्मानलगायतका कार्यक्रम राखिएको रिब्दीकोट–७, का वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिए । पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका सुन्तला उत्पादन हुने क्षेत्र हुन् ।

किसानले सुन्तला उत्पादनबाट वार्षिक एक लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । पाल्पामा उत्पादन भएको सुन्तला बुटवल, भैरहवा, पोखरा, काठमाडौँ, जनकपुरलगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।

पाल्पामा पछिल्लो समय अन्य खेती छाडेर पनि किसानहरू सुन्तला खेतीतर्फ किसान आकर्षित हुँदै गएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics