सुरक्षा पोष्टकै छेउमा तस्करले २० दिनसम्म सेल्टर बनाए, खाल्डो खने, खाना पकाए, गैंडा मारे, निकुञ्जले थाहा पाएन

छानविन प्रतिवेदन भन्छ : निकुञ्ज प्रशासनको चरम लापरवाही भयो

चितवन - चितवन राष्ट्रिय निकुञ्जको चपरचुली सुरक्षा पोष्ट नजिकै कोर क्षेत्रमा तस्करहरुले दुईवटा गैंडा मारेको घटना छानबिन गर्न गठित समितिले निकुञ्जको लापरवाहीका कारण तस्करले गैंडा मारेको निश्कर्ष छानबिन समितिले निकालेको छ ।

घटनास्थल नजिकै आगो बाल्ने अगेनो, कपडाका टुक्रा, पानीका बोतलसमेत भेटिएकाले तस्करहरु सेल्टर बनाएर बसेको देखिएको छ । जंगलभित्र नै गैंडाको खाग काटेर, आगो बालेर खाग उमालेर सफा गरेको पनि पाइएको छ । तर निकुञ्ज प्रशासनले त्यसको सुइँकोसम्म पाएन ।

निकुञ्जको मुख्य कार्यालय कसरा, सेक्टर कार्यालय सौराहा, रेञ्ज पोष्ट र पोष्टबाट गरिने गस्ती प्रभावकारी नभएको उल्लेख गरिएको छ । गैंडाको बासस्थानमा ध्यान केन्द्रित हुन नसक्नु तथा गस्तीलाई औपचारिकतामा मात्रै सिमित गर्नु गैंडा मारिनुको कारण भएको निश्कर्ष समितिले निकाल्दै निकुञ्जको सुरक्षा प्रणालीमा नै प्रश्न उठाएकाो छ । विगतमा अदालतबाट भएका फैसला अनुसार जेल सजाय भुक्तान गरी बाहिर निस्केका व्यक्तिको निगरानी नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तस्करहरुको समूहले निकुञ्ज क्षेत्रभित्र खाल्डोमा पारेर दुईवटा गैंडा मारेको र खाग र खुर काटेर लगेको घटना सार्वजनिक भएको थियो ।
मंसिर १ गते वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

पहिले ठूलो गैंडा र त्यसको ७ दिनपछि सानो गैंडा खाडलमा परेका थिए । ठूलो गैंडाको आकार बराबरको खाडल भएकाले टाउको तल परेर घाँटी भाँचिएर गैंडा मरेको थियो । गैंडाका करङ्गहरुसमेत भाँचिएका थिए । गैंडा मरेपछि खाग फुकालेको र सानो गैंडा ठूलो खाडलमा परेकाले तत्काल नमरेपछि नजिकैबाट गोली हानेर मारेर धारिलो हतियारले खाग काटेर लगेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा गैंडा मार्न निकुञ्जको सुरक्षा पोष्टबाट २.३ किलोमिटर र राप्ती नदीबाट करिब ३.५ किलोमिटर नजिकै झण्डै २० दिनभन्दा बढी समय लगाएर तस्करहरुले ७ वटा खाल्डा खन्दा समेत निकुञ्ज प्रशासनले थाहा पाएन ।तस्करहरुले पानीको घोल नजिकै गैंडा आउने बाटो, आनीबानी र समयको समेत रेकी गरेर खाडल खनेका थिए ।

खाडल खन्दा निस्किएको माटोलाई अन्यत्रै लगेर फालेर खाडलमाथि प्राकृतिक जस्तो देखाउन घाँसपात हालेर छोपेका थिए । खाल्डो नजिकै अग्लो अस्थायी मचान बनाएर गैंडाको अवस्था बुझेका थिए ।

निकुञ्जको हात्ती हराएर खोज्न जाँदा मात्र गैंडा खाडलमा परेर मरेको अवस्थामा भेटिएका थिए । गैंडा मारेको २० दिनसम्म पनि सो ठाउँमा निकुञ्जका कोही नपुग्दा निकुञ्जको इमान्दारिता र सुरक्षा संवेदनशिलतामा गम्भिर प्रश्न उठेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics