किन आए टिकटकका वरिष्ठ अधिकारी नेपाल ? खुल्ला त अब टिकटक ?

काठमाडौं – सरकारले केही अघि सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गर्यो । अनि, बन्द पनि भयो । तर, प्रधानमन्त्रीको पछिल्ला कुराले टिकटक पुनः सञ्चालन होलाकी भन्ने धेरैको अनुमान छ । प्रधानमन्त्रीले केही दिन अघि सम्पादकहरूसँगको भेटमा टिकटक बन्दको निर्णयमा केही लचिलो बन्न सकिने आसयको भनाई राखेका थिए ।

यसैक्रममा टिकटकका वरिष्ठ अधिकारी पनि नेपाल आएका छन् । र, नेपालमा दर्ता गर्न टिकटकले चाहेको चर्चा पनि चलिरहेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र प्रधानमन्त्रीका एक विज्ञले पनि टिकटकका उच्च अधिकारी नेपाल आएका पुष्टि गरेका छन् ।

‘हाल काठमाढौंमा रहेका दक्षिण एशियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध मामिला प्रमुख फिरदौस मोत्तकिनले मलाई पनि भेट्न खोजिरहनुभएको छ,’ प्रधानमन्त्री प्रचण्डका सूचना तथा प्रविधिविज्ञ प्रकाश रायमाझीले भने ।

पेसाले सूचना प्रविधि इन्जिनियर तथा सार्वजनिक नीतिविज्ञ रहेका बंगलादेशका मोत्तकिन सन् २०२२ को नोभेम्बरमा टिकटकका लागि सो पदमा नियुक्त भएका थिए । सञ्चार मन्त्रालयका प्रवक्ताले पनि मोत्तकिनको टोलीबाट आफूहरूलाई इमेल प्राप्त भएको पुष्टि गरे ।

‘नियमनका कुरा अनि निर्देशिका लागु गर्न हामी तयार छौँ भन्ने खालको उहाँहरूको इमेल आएको मैले पनि हेरेको छु । तर, हामीसँग बसेरै छलफल गरौँ भन्ने हिसाबले इमेल उहाँहरूले गरिसक्नुभएको छैन,’ मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने ।

तर प्रधानमन्त्रीका सूचना तथा प्रविधिविज्ञ रायमाझीले छलफल गर्ने हिसाबले नै मोत्तकिन नेपाल आएको हुन सक्ने उल्लेख गरे । मोत्तकिन मात्रै काठमाडौं आएका हुन् अथवा उनीसँग टिकटकका अरू पदाधिकारी पनि छन् भन्नेबारे सरकारी अधिकारीले केही खुलाएका छैनन् ।

त्यसैगरी टिकटकका उच्च अधिकारीले काठमाडौंमा क–सकसलाई भेट्ने हुन् भन्नेबारे पनि केही स्पष्ट पारिएको छैन । टिकटकको राम्रो व्यापार रहेको बताइने नेपालमा प्रतिबन्धलाई लिएर त्यसको माउकम्पनी बाइटड्यान्सले पत्रमार्फत् नै आफ्नो चासो जाहेर गरिसकेको छ ।

गत नोभेम्बरमा टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै सरकारी निर्णयबाट ‘चकित परेको’ जनाएको थियो । सरकारी प्रतिबन्ध वाक् र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तसँग मेल नखाने खालको भएको भन्दै टिकटकले आफ्नो सातबुँदे पत्रमा असहमति प्रकट गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics