कोशीमा हात्तीको सास्ती, ज्यान जोगाउन रातभर जाग्राम

बेलबारी (मोरङ) – साँझ पर्न नपाई बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथानदेखि भाउन्नेका स्थानीय आतङ्कित बन्नुपरेको छ । दिनभरि नजिकै रहेको जङ्गलमा करिब तीन दर्जनको सङ्ख्यामा रहेका हात्ती साँझ आहाराका लागि बस्ती छिर्न थालेपछि स्थानीय त्रसित बन्नुपरेको छ ।

बेलबारी नगरपालिका–१० भाउन्नेका तेजबहादुर दाहालले दश कठ्ठा जमिनमा लगाएको मकै हात्तीले सोत्तर बनाएको छ । “राति सुत्न पाएका छैनौँ, हात्ती धपाउँदै रात बित्छ”, दाहालले भने । बिहीबार राति स्थानीय रबिन निरौला र तीर्थबहादुर दाहालको घरमा हात्तीले क्षति पु¥याएको छ । दाहाल भन्छन्, “राति खाना खाने समयमा आएका हात्तीले घर भत्काउन थाले, हामीले भागेर ज्यान बचायौँ ।”

आज बिहान मोरङको बेलबारी–१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको निरीक्षण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बस्तीमा आएका जङ्गली हात्तीलाई बस्तीभन्दा टाढा बासस्थानतर्फ चाँडै धपाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

साथै हात्तीले पु¥याएको क्षतिको उचित क्षतिपूर्ति दिइने मुख्यमन्त्री कार्कीले बताए । बेलबारी–८ र १० मा मात्रै बिसौँ बिगाहा जमिनमा लगाइएको मकै र केरा खेतीमा हात्तीले क्षति पु¥याएको बेलबारी–१० वडाध्यक्ष गङ्गाबहादुर याखाले बताए । केही दिनदेखि दैनिक रुपमा राति हात्ती धपाउन सशस्त्र प्रहरी, जनपद प्रहरी र नगर प्रहरीका साथै स्थानीयले प्रयास गरिरहे पनि पार नलागेको वडाध्यक्ष याखा बताउँछन् ।

मोरङको भाउन्ने क्षेत्रमा मकै र केरा खेती राम्रो उत्पादन हुने गरेको छ । यहाँका स्थानीय मकै र केरालाई नगदे बालीका रुपमा आफ्नो मुख्य आम्दानीको स्रोत मान्ने गरेको बेलबारी–१० भाउन्नेका अशोककुमार सुब्बा बताउँछन् । बेच्नलाई तयारी अवस्थामा रहेको एक कठ्ठा जमिनको मकै गएराति आएका जङ्गली हात्तीले सखाप बानाएको सुब्बाले बताए ।

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक÷एक गरी चारजनाको मृत्यु भइसकेको छ । यही मङ्सिर ५ गते हात्तीले आक्रमण गर्दा झापाको दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

यस्तै मङ्सिर १३ गते राति सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी–२ का रबिन खड्काको मृत्यु भएको थियो । चारकोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई मारेको हो । प्रहरीका अनुसार इटहरीको वडा नं १९, २०, २ र ३ मा हरेक रात हात्तीको बथानले भौतिक क्षति पनि गर्दै आएको छ ।

मङ्सिर १५ गते फेरि झापाको हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । जङ्गलबाट आएको एउटा हात्तीले वनलाई लछारपछार गरी कुल्चिएर मारेको हो । मङ्सिर १८ गते बिहान मात्रै मोरङको बेलबारीमा एकजनालाई हात्तीले मारेको छ । लेटाङ–३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१० भाउन्नेमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जङ्गली हात्ती हूलका हूल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०–२१ वटाको छ । दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मङ्गलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालित छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics