नेपालमा पहिलो पटक भेटियो सेतो हिमाली गिद्ध (फोटो फिचर)

कपिलवस्तु - नेपालमा पहिलो पटक पुरै सेतो रंग भएको हिमाली गिद्ध भेटिएको छ । यहाँ अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रंगको देखिएकामा नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा सेतो रंगको हिमाली गिद्ध भेटिएको हो । चराविद्संगै यसको अध्ययनमा लागेकाहरु अचम्मित भएका छन् ।



वाइल्ड लाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम ताम्राकार, ताहिर अहमद, राजेन्द्र महर्जन र नेचर गाइड प्रेम महत्तोको टोलीले पहिलो पटक नेपालमा सेतो रंगको हिमाली गिद्ध देखेका थिए । कालो, खैरो रंगको गिद्धको समूहमा एक्कासी सेतो रंगको गिद्ध देख्दा त निक्कै रोमाञ्चित बनेको वाइल्ड लाइफ फोटोग्राफर शेर्पाले बताए । ‘नयाँ लुक्समा ठूलो पक्षी देख्दा निक्कै रमाएँ । धित मार्ने गरी तस्बिर खिँचें ।’ उनले भने । उक्त गिद्धबारे सोधखोज गर्दा नयाँ पक्षी नभए पनि अनौठो र अद्वितीय भएको जानकारी पाउँदा खुसी नै लागेको उनले बताए ।

वंशाणुगत गुणमा अचानक आउने परिवर्तन वा शरीरलाई कालो खैरो बनाउने तत्वको कमीले सेतो रङको पाइएको हुन सक्ने चराविद् बताउँछन् । ‘पृथ्वीमा उत्पन्न विभिन्न कारणले वंशाणुगत गुण नै बदलिएर रङ फेरिएको हुन सक्छ,’ चराविद् कृष्णप्रसाद भुषालले भने, ‘यसबारे विस्तृत अध्ययन गर्नु आवश्यक छ। चरा सामान्य भए पनि यो केस रेयर हो । हजारौँ, लाखौँमा एउटा देखिन्छ ।’ हिमाली गिद्धको हकमा विश्वमै यो पहिलो घटना भएको उनले बताए । -KTV

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics