के बिरालाहरू मिलनसार हुँदैनन् ?
- नेचर खबर
काठमाडौं - कुकुरहरूलाई तिनका मनोभावना लुकाउन जैविक रूपमै असम्भव झैँ लाग्छ - नजिकिने, लुटपुटिने, सुँघ्ने, पुच्छर हल्लाउने जस्ता तिनका क्रियाकलापले तिनीहरू सन्तुष्ट भएको वा अत्तालिएको वा बेपरवाह खुसी भएको भनक दिन्छ। उनीहरूको मनोभावना हामी सहजै बुझ्छौँ।
बिरालोहरूको क्रियाकलाप पनि परिष्कृत नै हुन्छ - तिनले आफ्नो मनोदशालाई पुच्छर चलाएर वा कान तथा जुङ्गा यताउता गराएर दर्शाउँछन्। सामान्यतया (तर सधैँ होइन) बिरालोले निकाल्ने मसिनो आवाजले मित्रता वा सन्तुष्टि झल्काउँछ। यिनै हाउभाउबाट कुनै बिरालो मित्रवत् छ वा उसलाई त्यतिखेर एक्लै छाडिदिनु नै उपयुक्त हुन्छ भनेर निर्क्योल गर्न सकिन्छ।
कुकुर र मानिसको मित्रताबारे हामी निकै धेरै हदसम्म निश्चित् हुनसक्छौँ। तर हजारौँ वर्षदेखि सफलतापूर्वक घरपालुवा बनाइएको भएतापनि बिरालाहरूको छवि त्यत्तिकै राम्रो भने छैन। तिनको स्वतन्त्र विचरण गर्ने बानीलाई कतिपयले एक्लो रहन खोज्ने वा स्वार्थको रूपमा बुझ्छन्। कतिपयको भनाइ के हुन्छ भने तिनका खाने भाँडा रित्तो भएपछि मात्र बिरालाहरू नजिकिन्छन्।
तर बिरालो पाल्नेहरूले यी भनाइलाई वाहियात मान्छन्। उनीहरूका अनुसार बिरालोसँगको उनीहरूको सम्बन्ध कुकुरसँगको भन्दा कमजोर हुँदैन। तापनि किन बिरालो मिलनसार हुँदैनन् भन्ने छवि गाढा बनेको छ? के यसमा कुनै सत्यता छ ?
तर यस्ता छविले घरपालुवा जनावरको रूपमा बिरालोको लोकप्रियतामा कमै असर परेको पाइन्छ। यूकेमा मात्र १ करोड घरपालुवा बिरालो छन्। सन् २०१२ मा गरिएको एक अध्ययनमा कम्तीमा २५% परिवारले कम्तीमा एउटा बिरालो पालेको पाइयो।
बिरालोको छविबारे बुझ्न तिनलाई घरपालुवा बनाउन गरिएका प्रयासबारे बुझ्नुपर्छ। कुकुरलाई पाल्तु बनाउनुभन्दा बिरालोलाई पाल्तु बनाउने काम निकै लामो थियो। प्राग इतिहास खोतल्दै जाँदा करिब १० हजार वर्ष पहिले मध्यपूर्वका नियोलिथिक गाउँहरूमा घरपालुवा बिराला सबभन्दा पहिले भेटिएका हुन्।
सुरुमा ती बिरालो खानेकुराका निम्ति तिनका मालिकसँग निर्भर थिएनन्। आफ्नानिम्ति खानेकुरा आफैँ खोज्न तिनलाई प्रोत्साहन गरिन्थ्यो। साथै खाद्यान्नलाई मुसा तथा अन्य पशुबाट जोगाउन उनीहरूको उपयोग गरिन्थ्यो। सुरुदेखि नै मानिसको बिरालोसँगको सम्बन्धमा अलिकति बढी दूरी थियो - कुकुरसँगको सम्बन्धको तुलनामा।
मानिसले घरपालुवा बनाउन गरेका प्रशिक्षणले बिरालाहरूलाई तिनको जङ्गली स्वभावबाट थोरैमात्र परिवर्तन गराएको छ।
'मानिसहरू बिरालो पनि कुकुरजस्तै होस् भन्ने अपेक्षा गर्छन्'
"खासमा मानिसले सो प्रजातिलाई बुझ्न नसकेको मात्र हो," पशु चिकित्सक तथा इन्टर्न्याशनल क्याट केअरकी ट्रस्टी क्यारेन हिस्टान्डले भनिन्। "कुकुर तथा मानिस निकै मिल्दाजुल्दा हुन्छन् र हामी लामो समयदेखि सँगसँगै छौँ। एकप्रकारले हामी दुवै प्रजातिको विकासक्रम जोडिएको छ। तर बिरालोसँग भने यो विकासक्रम अलि पछिल्लो कालमा मात्र सुरु भयो। बिरालोको पूर्वज एकान्तप्रेमी थिए र ती प्रजाति सामाजिक पनि थिएनन्।"
हामीले अचेल घरपालुवा बनाएको अफ्रिकन जङ्गली बिरालोको पूर्वज एकान्तमा नै बस्ने गर्थे। प्रजननका लागि जोडि खोज्ने बेलामात्र एकअर्कासँग भेट्थे। "मानिसले सफलतापूर्वक पाल्तु बनाएको असामाजिक जनावरमा बिरालोमात्र पर्छ। बाँकी सबै पाल्तु जनावरको तिनका प्रजातिका अन्य सदस्यसँग सामाजिक सम्बन्ध छ।"
त्यसैले पनि उसको हाउभाउ बुझ्न हामीलाई गाह्रो भएको हुनसक्छ। "मानिसहरू बिरालोपनि कुकुरजस्तै होस् भन्ने अपेक्षा गर्छन्। जुन हुनसक्दैन।" बिरालोको मनोभावनाबारे कुकुरको मनोभावना जति अध्ययन अनुसन्धान भएका छैनन्। भएका अध्ययन पनि प्रारम्भिक अवस्थामै छन्। तर तिनले मानिससँग उसको सामाजिकीकरण जटिल किसिमको भएको इङ्गित गरिसकेका छन्।
"यो विषय अनुवंशले त निर्देशित गर्छ नै तर सामाजिकीकरणको पनि भूमिका रहन्छ। यदि बिरालोको जीवनको प्रारम्भिककालमा सामाजिकीकरणप्रति उसको सकारात्मक छाप परेको छ भने उसले मानिस नजिकिन बढ्ता रुचाउँछ।"
भूमध्यसागर वरपरको क्षेत्रमा अनि जापानमा "सामुदायिक बिरालाहरू" को समूह देखिन्छ। माछा मार्ने समुदायका मानिसको गाउँमा ती बिरालाहरू मिलेर बस्छन् अनि तिनलाई खुवाउने स्थानीयबासीहरूसँग नजिकिन्छन्। टर्कीको इस्तानबुल सहरमा देखिने बिरालालाई स्थानीयबासीले खुवाउँछन् र हेरविचार गर्छन्। उक्त सहरको परिचयसँग समेत उनीहरू जोडिएका छन्।
बिरालासँग गाढा सम्बन्ध ?
यदि हामी बिरालोसँग निकट सम्बन्ध चाहन्छौँ भने हामीले के मा ध्यान दिने?
कुकुरले जस्तै बिरालोले आवाजभन्दा पनि तिनको शारीरिक हाउभाउले सन्देश प्रवाह गरिरहेका हुन्छन्। "मलाई लाग्छ कुकुरको भन्दा बिरालोको हाउभाउ ठम्याउन मानिसहरूलाई मुस्किल हुन्छ," बिरालोको व्यवहारबारे पीएचडी शोध गर्दै रहेकी क्रिस्टिन भिटालीले भनिन्। तर त्यसमा बिरालोको भने खासै दोष छैन।
कुकुरहरूमा विकसित एउटा विशिष्ट गुणले उनीहरूले बिरालोभन्दा चाँडो मानिससँग निकटता बनाए। पोर्ट्समथ विश्वविद्यालयले गरेको एक अध्ययनमा कुकुरहरूले समयक्रममा मानव शिशुको जस्तै अभिव्यक्ति नक्कल गर्न सकेको पत्ता लगायो।
यसमा आँखीभौँको भित्रि भाग उचाल्ने मांसपेशीको विकास पर्छ। यस्तो शैली कुकुरका पूर्वज ब्वाँसाहरूमा थिएन। तर बिरालाहरूमा त्यस्तो मांसपेशी छैन। त्यसैले उनीहरूको हेराइ अलि कठोर र अमित्रवत् लाग्न सक्छ। तर बिरालोले विस्तारै आँखा झिमझिम गर्ने भनेको उनीहरूले प्रेम प्रदर्शन गरेको हो।
भिटालेले उनले ओरेगन स्टेट विश्वविद्यालयमा गरेको एक प्रयोगको स्मरण गरिन्। त्यसमा बिराला र कुकुरहरूलाई तिनका मालिकले एउटा कोठामा छाडेर जान्छन्। केही समयपछि मालिक फर्कन्छन्। "एउटा रमाइलो कुरा के देखियो भने आफ्नो मालिकसँग निकट अधिकांश बिरालाले मालिक फर्किएपछि यसो अभिवादन जस्तो गरेर फेरि अन्यत्र ध्यान मोडे। कुकुरहरूले पनि त्यसै गरे," भिटालेले भनिन्।
हिस्टान्डका अनुसार कुकुरको तुलनामा बिरालोको व्यवहार बुझ्न इतिहासदेखिनै मानिसहरू असक्षम छन्। वर्षौँ प्रशिक्षित विज्ञहरूसमेत यो चुनौती बेहोरिरहन्छन्।
"म सन् २००७ मा एउटा सम्मेलनमा गएँ जहाँ मैले धेरै कुरा नजानेको थाहा पाएँ," उनले भनिन्। "त्यहाँ एकदमै आधारभूत सूचना थिए जो मैले जानेको थिइनँ। जस्तो कि बिरालोलाई उसको खाना र पानी छुट्टाछुट्टै ठाउँमा राखेको मनपर्छ।"
अनि बिरालोले उसको मालिकको शरीरमा आफूलाई रगड्ने शैलीलाई हेरौँ। यसलाई पहिलेपहिले उसले आफ्नो इलाका कोरेको रूपमा हेरिन्थ्यो। जसरी जङ्गली बिरालाहरूले रुख वा अन्य ठाउँमा गर्छन्।
तर मानिसहरूको शरीरमा उनीहरूले त्यसो गर्नु भनेको चाहिँ प्राय: उनीहरूले प्रेम प्रदर्शन गरेकै बुझ्नुपर्छ - बिरालोले उसको वासना तपाइँको शरीरमा अनि तपाइँको वासना आफ्नो शरीरमा सारिरहेको हुन्छ। यसले एउटा "साझा वासना" बन्छ जसले मित्र र शत्रु छुट्ट्याउन मद्दत गर्छ। - एजेन्सीकाे सहयाेगमा
प्रतिक्रिया दिनुहोस