राष्ट्रिय चरा ‘डाँफे’को संख्या किन घटिरहेको छ ?

काठमाडौं – नेपालको हिमाली भेगमा पाइने सुन्दर डाँफे चराकोको संख्या कम हुँदै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार चराचुरुङ्गीबीचको आन्तरिक द्वन्द्व तथा चोरीसिकार जस्ता कारणले यसको संख्यामा कमि आएको हो ।

हिमरेखा क्षेत्रमा बस्न रुचाउने डाँफे चरा काग तथा बाजले जिस्काउने र लखेट्दा भाग्ने क्रममा पनि ठोक्किएर मर्ने गरेको अनुसन्धानले देखाएका छन् । डाँफे नेपालको राष्ट्रिय चरा हो ।

जाडो याममा लालीगुराँस फुल्ने जंगल तथा गर्मीमा माथिल्लो बुकी क्षेत्रमा समूह बनाइ यो बस्ने गर्छ । हिमाल, पहाड र तराई तीनै प्रकृतिको भूगोल भएको ढोरपाटन क्षेत्रमा अन्यको तुलनामा बढी डाँफे पाइन्छ ।

वर्षा यामपछिको समय र वसन्त तथा ग्रीष्म ऋतुमा समेत सिकारीहरू र भेडागोठालाहरूले पासो थाप्ने र मार्ने गरेकाले नेपालमा यसको संख्या कम हुदैँ गएको बताइएको छ ।

विश्वमा यस चराको संख्या कति होला भनेर अनुमान गरिएको छैन । तर, नेपालमा यसको संख्या पाँच वर्ष अघि सम्म ३ हजार ५ सय देखि ५ हजारसम्म भएको अनुमान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गरेको थियो । पछिल्लो तथ्यांक आएको छैन ।

७० सेन्टिमिटरसम्म लामो डाँफेको भालेको वजन २ हजार ३ सय ८० ग्राम तथा पोथीको वजन २ हजार १ सय ५० ग्रामसम्म हुन्छ ।

डाँफे नेपाललगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । यसको प्वाँख विभिन्न धार्मिक परम्परामा अत्यन्त महत्त्वका साथ प्रयोग हुने गरेको छ ।

डाँफेको स्वभाव नै कोही देख्यो भने लुकी हाल्ने, कसैले जिस्कायो भने डराइहाल्ने भएकाले स्वभाव अनुसारको बासस्थानको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको चरा विज्ञहरूले बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics