१०१ क्विन्टल अन्नबाट जनकपुरमा बन्यो सीतारामको आकृति, विश्व रेकर्ड कायम होला ?

जनकपुर - जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको आकृतिले रौनकता बढाएको छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको आकृतिले झनै बढाएको हो । विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो आकृतिलाई शनिबारदेखि सर्वसाधारणको अवलोकनका लागिसमेत खुला गरिएको छ । यो आकृतिको निर्माण ११ पटक अन्नकै आकृति बनाएर विश्व रेकर्ड बनाएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गरेका हुन् ।

कोरोना महामारीताकादेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गरेका गुर्जरले नेपाल-भारतको साझा संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिना पारिश्रमिक यो आकृतिको निर्माण गरेको बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समितिद्वारा निर्मित आकृतिमा भगवान सीतारामको स्वयम्वरको दृश्य र राजर्षि जनक तथा गुरु विश्वामित्रको पनि आकृति बनाइएको छ । आकृतिमा ११ प्रकारका १ सय १ क्विन्टल अन्नको प्रयोग गरिएको छ । भारतीय कलाकारले निर्माण गरेको यो आकृतिले नेपाल भारतको साझा संस्कृतिलाई दर्शाइरहेको वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदूत देवीसहाय मिणाले बताए ।

पछिल्लो पटक भारतको अयोध्यमा अन्नबाटै आकृति निर्माण गरेर विश्व रेकर्ड बनाएका सतिश गुर्जरकै टिमले आफ्नै रेकर्ड तोड्ने उद्देश्यले निर्माण गरिएको यो आकृतिले जनकपुरधामको पर्यटनलाई बढावा दिन मद्दत गर्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।

यो आकृति निर्माण गरेर अन्नको दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेको समयमा आकृति निर्माणमा प्रयोग गरिएको अन्न खेर नजाने आकृति निर्माण समितिले जनाएको छ । आकृति निर्माणमा प्रयोग गरिएका अन्न अनाथालय, वृद्धाश्रम, मानव सेवा आश्रम लगायतका स्थानमा प्रयोग गर्न सकिने कतिपयको तर्क छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics