यसपटकको हिउँदमा बढी पानी पर्ने, तर किन ?

काठमाडौं – प्रायः वर्षा भन्दा चिसो बढी हुन्छ । हिउँ पर्छ, अनि विहान सीत र तुसारो । तर, यसपटक भने देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आकलन गरेको छ ।

डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिनाको अवधिमा सबैभन्दा बढी सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा हुने सम्भावना रहेको वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताइन् । कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई सरदर वर्षा भन्ने गरिन्छ ।

एकजना वरिष्ठ कृषि अर्थविज्ञले पूर्वानुमान अनुसार धेरै पानी परेमा हिउँदे बालीमा असर पर्न सक्ने भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पूर्वोत्तर तथा कर्णाली प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

‘सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी, कर्णालीका दक्षिणी, लुम्बिनीका पूर्वीबाहेकका भूभाग, गण्डकी तथा वाग्मती प्रदेशका पश्चिमोत्तर र कोशी प्रदेशका पूर्वोत्तर भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ,’ विभागको तीन महिने आकलनमा उल्लेख छ ।

सुदुरपश्चिम प्रदेशका पश्चिमी भूभाग, लुम्बिनीका पूर्वी, बाग्मतीका मध्य तथा दक्षिणी, मधेशका पश्चिमी र कोशी प्रदेशका पश्चिमोत्तर भूभागमा चाहिँ सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको देखिएको छ ।

कोशी प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका मध्य तथा पूर्वी भूभागमा भने सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत देखिएको विभागले जनाएको छ ।

वरिष्ठ मौसमविद् पोखरेलका अनुसार विश्व मौसम संगठन अन्तर्गतका जलवायु सूचना उत्पादन केन्द्रहरूका हावापानी प्रारूपको आकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एशियाली जलवायु दृष्टिकोणको आकलनका आधारमा यो पूर्वानुमान गरिएको हो ।

हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको वर्तमान अवस्था तथा जलवायु प्रारूपहरूको हिउँद अवधिको आकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत ध्यानमा राखी प्रक्षेपण गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार हाल प्रशान्त महासागरमा एल निन्यो अवस्था रहेको र आगामी हिउँदमा पनि त्यो कायम रहने देखिएको छ ।

यो हिउँदमा नेपालमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिनुको एउटा कारण एल निन्यो भनिने जलवायु प्रणाली भएको विभागले जनाएको छ । वैज्ञानिकहरूका अनुसार एल निन्यो र ला निन्या भनेका जलवायु प्रणाली एल निन्यो सदर्न असिलेशन (ईएनएसओ) का दुईवटा अवस्था हुन् ।

एल निन्यो भनेको एउटा जलवायु प्रणाली हो जुन पूर्वी प्रशान्त महासागरको तापक्रममा निर्भर हुन्छ । यो अवस्था हुँदा पूर्वी प्रशान्त महासागरको तापक्रम सरदरभन्दा बढी हुन्छ । एल निन्यो र ला निन्याको अवस्था सामान्यतया दुईदेखि सात वर्षमा देखापर्छ र धेरैजसो ९ देखि १२ महिनासम्म रहन्छ ।

ला निन्याको अवस्था एल निन्योभन्दा कम देखापर्छ । एल निन्यो र ला निन्याले निम्त्याउने मौसमको चरम अवस्थाका कारण विश्वभरि नै भौतिक संरचना, खाद्यान्न र ऊर्जा प्रणालीमा असर गर्छ ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि संगठनका अनुसार एल निन्योका कारण क्यानडा र एशियामा सन् २०१४ देखि २०१६ सम्ममा भएको खडेरीका कारण ६ करोडभन्दा बढी मानिसको खाद्य सुरक्षामा असर गरेको थियो ।

विज्ञहरूका अनुसार सामान्यतया हिउँदयाममा लगाइने बालीहरूले धेरै पानी सहन सक्दैनन् । ‘ठ्याक्कै कुन स्तरमा पानी पर्ला भन्ने कुरा त अहिले थाहा हुने कुरा भएन । विभागले पनि सरदरभन्दा बढी पर्ने भनेको हो,’ वरिष्ठ कृषि अर्थविद् महादेवप्रसाद पौडेलले भने, ‘तर धेरै प¥यो भने त्यसले बालीनालीमा क्षति पु¥याउन सक्छ । किनभने हिउँदमा लगाइने गहुँ, दलहन बाली र तरकारीमा आलु नै भनौँ तिनले धेरै पानी सहँदैनन् ।’

बालीनालीमा पर्ने असर वर्षाको प्रवृत्तिमा पनि निर्भर गर्ने उनी बताउँछन् । ‘थोरैथोरै पानी पर्ला अथवा हप्ता दिनसम्म वर्षा भएर खेतहरूमा पानी जम्ला । वर्षाको प्याटनमा पनि निर्भर गर्ला,’ पौडेलले थपे ।

पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण चरम वर्षा अथवा सुक्खा लगायतका अवस्था निम्तिन थालेकाले सोहीअनुसार रणनीति अपनाउनुपर्ने पनि उनको सुझाव छ । ‘अनुकूलनतर्फ जानुपर्छ र अनुकूलनतर्फ लाग्दा अनुसन्धानले त्यसलाई निर्देशित गर्नुपर्छ,’ पौडेलले भने । –बीबीसीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics