जापानको ‘चन्द्रमा ल्यान्डर’ चन्द्रमाको कक्षमा प्रवेश

टोक्यो - जापानको एसएलआइएम अन्तरिक्ष यान सोमबार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । यो आगामी महिना मुलुकको पहिलो सफल चन्द्र अवतरणको दिशामा ठूलो कदम हो ।

चन्द्र सतहमा विशिष्ट लक्ष्यको एक सय मिटर (तीन सय २८ फिट) भित्र अवतरणका लागि डिजाइन गरिएको हुनाले स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) लाई ‘मुन स्निपर’ नाम दिइएको छ ।

सफल भएको अवस्थामा यो टचडाउन अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा सफलतापूर्वक अवतरण गराउने पाँचौँ मुलुक बन्नेछ ।

“सोमबार एसएलआइएम जापानी समयानुसार साँझ ४ः५१ (०७ः५१ जिएमटी) मा चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ”, जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) ले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनेको छ, “यसको प्रक्षेपपथमा परिवर्तन मूलरूपमा योजनाअनुसार हासिल गरिएको थियो र जाँचको अवस्थामा त्यस्तो कुनै समस्या छैन ।”

जेएएक्सएका अनुसार जापानी समयानुसार जनवरी २० मा चन्द्रमामा यानको अवतरण करिब १२ः०० बजे सुरु हुने अपेक्षा गरिएको छ । त्यसको २० मिनेटपछि यान सतहमा अवतरण गर्ने कार्यक्रम छ ।

खराब मौसमका कारण तीन पटकको स्थगनपछि एच–आइआइए रकेटले सेप्टेम्बरमा दक्षिणी द्वीप तनेगाशिमाबाट यानलाई लिएर उडान भरेको थियो । जेएएक्सएले यसै महिना यो मिसन चन्द्रमामा ‘अभूतपूर्व उच्च परिशुद्धता अवतरण’ हुने बताएको थियो ।

यान एउटा गोलाकार प्रोबले सुसज्जित छ । यसलाई एउटा खेलौना कम्पनीमार्फत विकसित गरिएको थियो । टेनिस बलभन्दा थोरै ठुलो यसले चन्द्रमाको सतहमा हिँड्का लागि आफ्नो अकार परिवर्तन गर्न सक्छ ।

जेएएक्सएका अनुसार अनुसन्धानकर्ताहरूको २० वर्षको प्रयासको परिणामस्वरूप लक्ष्यबाट केही १० वा त्योभन्दा बढी किलोमिटरमा अवतरण गर्ने अघिल्लो जाँचहरूको तुलनामा एसएअआइएमको एक सय मिटरभन्दा कम त्रुटिको कथित मार्जिनले एक पटक असम्भव मानिएको सटीकतालाई बुझाउँछ ।

“प्रविधिको विकाससँगै चन्द्रमाको सतहमा क्रेटर र चट्टानजस्ता लक्ष्यहरू पत्ता लगाउन माग बढ्दै गएको छ”, जेएएक्सएका एसएलआइएम परियोजना प्रबन्धक शिनिचिरो सकाईले यसै महिना पत्रकारहरूलाई भने, “चन्द्रमामा कतै खोज्ने मात्रै चाहना हुने दिनहरू गए ।”

सकाईका अनुसार एसएलआइएमको सटीकताले चन्द्र पर्माफ्रस्ट (माइनस ३२ डिग्री सेल्सियस तापक्रमले पूर्णरूपमा जमेको जमिन) को नमुना लिन सहज बनाउने छ । यसले वैज्ञानिकहरूलाई चन्द्रमामा जलस्रोतको रहस्य पत्ता लगाउन एक कदम नजिक ल्याउने छ ।
जापानी चन्द्रमा अभियान सार्वजनिक र निजी गरी दुई पटक असफल भइसकेको छ । गत वर्ष जापान अमेरिकाको आर्टेमिस १ अभियानको भागका रूपमा ओमोटेनाशी नामक चन्द्रमा जाँच गर्न असफल भएको थियो ।

अप्रिलमा जापानी स्टार्टअप आइस्पेसले चन्द्रमामा अवतरण गर्ने पहिलो निजी कम्पनी बन्ने व्यर्थ प्रयास गरेको थियो । ‘कठोर अवतरण’ का रूपमा वर्णन गरेपछि कम्पनीको यानसँग सम्पर्क विच्छेद भएको थियो ।-(रासस/एएफपी)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics