मौरीदेखि मान्छेसम्मलाई मख्ख पार्ने चिउरी

काठमाडाैं - चिउरी नेपालको मेचीदेखि महाकालीसम्म विशेषगरी मध्यपहाडी भेगमा बढी मात्रामा पाइने हाम्रो आफ्नै रैथाने बहुवर्षीय पतझड़ वनस्पति हो । यो २०० देखि १ हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ । यसको रुख २०-२५ मिटरसम्म अग्लो हुन्छ । चिउरी विभिन्न काममा उपयोगी हुनाले यसलाई 'कल्पवृक्ष' पनि भनिन्छ ।

चिउरी ठाउँ हेरी कार्तिकदेखि पुससम्ममा फूल फुल्ने र फल लाग्ने गर्दछ र जेठदेखि साउनसम्ममा ती फलहरू पाक्दछन् । झुप्पा झुप्पामा फल लाग्ने भएकोले चिउरी फुल्दा, फल्दा र पाक्दा निकै रमणीय वातावरण हुन्छ । विभिन्न अध्ययनहरूले देखाएअनुसार, एउटा परिपक्व चिउरीको रुखबाट एक वर्षमा सालाखाला ८० • किलोसम्म फल उत्पादन हुन्छ । अनुभवी किसानहरूका भनाइअनुसार चिउरी फल्न थालेदेखि लगातार ५० वर्ष वा त्योभन्दा बढी अवधिसम्म नै फल दिने गर्छ । अर्थात् हजुरबा-आमाले फल टिपेको उही चिउरीको बोटबाट नाति नातिनाले पनि फल टिप्न पाउँछन् ।

प्रयोग
नेपालमा चिउरीको प्रयोग विभिन्न तरिकाले गर्ने गरिएको छ । यसको काण्ड, हाँगा, पात, फूल, फल सबै प्रयोग हुन्छ । जस्तैः
• पातलाई घाँसको रूपमा जनावरलाई खुवाउने गरिन्छ । चिउरीको घाँसलाई एक पौष्टिक आहारको रूपमा लिने चलन छ ।
• पातबाट दुना टपरी बनाइन्छ । तिहारको बेला चिउरीको दुना टपरी सबैभन्दा उत्तम मानिन्छ ।
• हाँगाबाट दाउरा र काण्डबाट घर तथा फर्निचर निर्माण गरिन्छ ।
• चिउरीको फल पाकेपछि सिधै (दूध) खान प्रयोग गरिन्छ । साथै यसको दूधमा
धेरै नै गुलियो तत्व हुन्छ । कतै कतै चिउरीको दूध निकालेर त्यसमा खीर बनाई खाने चलन पनि छ । साथै, चिउरीको फलबाट जुस र जाम पनि बनाउन सकिन्छ ।
• चिउरीको पाकेको फलभित्र हुने बिजुला (बियाँ) बाट चिल्लो पदार्थ घिउ निकाली यसबाट क्रिम, औषधी, मैनबत्ती लगायतका सामान र कस्मेटिक सामान बनाउने चलन छ । साथै, घिउबाट साबुन पनि बनाउने गरिन्छ । चिउरीबाट दूध र घिउ बन्ने हुँदा यसलाई 'गरिबको गाई' पनि भन्ने चलन छ । यसको फल प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन 'सी' लगायतका पौष्टिक तत्वको स्रोत पनि हो ।
• यसको फूल र फलबाट वाइन तथा अन्य मदिराजन्य मादकपदार्थ बनाउने पनि
चलन छ ।
• यसको बिजुलाबाट घिउ निकालेपछि निस्कने पिनाबाट मल र विषादी पनि बनाउन सकिन्छ ।
• विशेषगरी, मौरीपालन (मह उत्पादन) व्यवसायको लागि चिउरी ज्यादै राम्रो र दिगो स्रोत हो । चिउरीबाट मौरीले फूल फुलेदेखि फल पाकुञ्जेलसम्म (करिव ८ महिना) आहारा (रस) को स्रोतको रूपमा लिन सक्ने भएकोले चिउरी पाइने क्षेत्रमा निकै बढी गुणस्तरीय मह उत्पादन हुन्छ । इसिमोडको एक अध्ययन अनुसार, नेपालले वर्षेनि १७ हजार टनभन्दा बढी चिउरीको मह ('Chiuri honey') उत्पादन गरी विदेशी मुलुकहरूमा निर्यात गर्न सक्ने बलियो सम्भावना रहेको छ ।
• चिउरीको आर्थिकमात्र होइन, तराइको उच्च भूभाग, चुरे क्षेत्रदेखि मध्य पहाडी क्षेत्रमा पाइने एक असल 'रुख प्रजाति' को हैसियतले यसको वातावरणीय महत्व पनि उत्तिकै छ । वातावरणीय सन्तुलन कायम गर्न र भूक्षय नियन्त्रणमा चिउरीको योगदान झनै बढी छ ।

चिउरी संरक्षण र खेती प्रविधि
माथिका फाइदाहरू केलाउँदा हामीलाई थाहा हुन्छ- चिउरी नेपाली कृषकहरूका लागि अति नै लाभदायक वनस्पति हो । त्यसैले चिउरीको खेती बढाएर एक असल 'वन उद्यमी' तथा 'मौरीपालक' बन्न सकिन्छ । चिउरी जङ्गलमा आफैँ उम्रेर हुर्केको पनि पाइन्छ । तर त्यस्ता बिरुवाबाट उत्पादन मात्र लिने तर स्याहार सम्भार र हेरचाह नगर्ने हो भने छोटो समयमै लोप हुँदै जाने खतरा हुन्छ । तसर्थ चिउरीको संरक्षण तथा उचित व्यवस्थापनबाटै यसबाट दिगो आर्थिक लाभ लिन सकिन्छ । यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने केही तरिका तथा प्रविधिहरू छन्, ती हुन् :

• प्राकृतिकरूपमा आफैँ उम्रेर हुर्किन थालेका चिउरीका बिरुवाहरूलाई चरन, डढेलो तथा अन्य क्षति हुनबाट राम्रोसँग जोगाउने,
दाउरा र घाँसका लागि चिउरीका पोथ्राहरु नकाट्ने,
• चिउरीको फल टिप्दा पाकेका फलहरू ५ प्रतिशत जति रुखमै छाडिदिने,
• चिउरीका पुराना र बुढा रुखहरू काट्न परेमा नयाँ बिरुवा लगाएर मात्र काट्ने,
• दाउरा र काठका लागि चिउरीका रुख नकाटी यसको विकल्प खोजी गर्ने, र,
• चिउरीको बहुमुखी लाभबारे स्थानीय सबैलाई राम्रोसँग सम्झाउने, बुझाउने ।

सामुदायिक वन वा निजी जग्गामा चिउरीको खेती गर्न सकेमा चिउरीबाट हुने बहुपक्षीय लाभबाट धेरै जनतालाई फाइदा पुऱ्याउन सकिन्छ । नेपाल सरकारले पनि पछिल्लो समयमा चिउरी खेती तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ । केही जिल्लाहरूमा किसानहरूले खेतबारीमा परम्परागतरूपमा चिउरी रोप्ने गरेको तथा सामुदायिक वनमा संरक्षणतर्फ पनि उनीहरूको चासो र आकर्षण बढ्दै गएको पाइन्छ । तसर्थ हामीले पनि हाम्रो क्षेत्रमा चिउरी खेती बढाएर लाभ लिन सकिन्छ । यस पुस्तिकामा चिउरी खेतीका लागि इच्छुक किसानहरूका लागि चिउरीको बिरुवा उत्पादन गर्ने तरिका, रोप्ने तथा हुर्काउने तरिका, फल टिप्ने तरिका, प्रशोधन गर्ने तरिका एवं बेचबिखनका लागि सम्पर्क गर्ने स्रोतहरूका बारेमा तल क्रमश: छोटो छोटो चर्चा गरिएको छ ।



चिउरीको बीउ सङ्कलन तथा नर्सरीमा बिरुवा उत्पादन
जेठदेखि साउनसम्ममा चिउरी पाकी सक्ने हुनाले बीउ सङ्कलन समयमै गर्न हामी चनाखो बन्नुपर्छ । साथै, वनविज्ञहरूका अनुसार 'चिउरीको बीउलाई १ हप्ताभन्दा धेरै समय भण्डारण गरेर राख्दा त्यसमा रहेको उमारशक्ति नष्ट भएर जाने हुँदा फल टिपेको एक हप्ताभित्रमा बीउ लगाउने काम सकिसक्नु पर्दछ । चिउरीको बीउको उमारशक्ति राम्रो (५० देखि ८० प्रतिशतसम्म) भएकाले बीउबाटै खेती गर्न सजिलो हुन्छ । फल पाक्नासाथै फल टिपेर त्यसको गुदी सफा गरी बीउ (बिजुला) सङ्कलन गरी ओइलाउनु पर्दछ । बीउबाट खेती गर्दा नर्सरीमा निम्न कार्यहरु गर्नुपर्दछ :

क) नर्सरी तयार गर्ने बीउ सङ्कलन गरेको ७ दिनभित्रमा बीउलाई १ दिनभरि चिसो पानीमा भिजाएर १ भाग प्राङ्गारिक / कम्पोष्ट मल, १ भाग बालुवा र १ भाग साधारण माटो मिसिएको नर्सरी बेडमा १० सेन्टिमिटर (सेमि) को फरकमा बीउ रोप्नुपर्दछ । यस्तो नर्सरी ब्याड प्लाष्टिक टनेल वा खर- परालको छाप्रोभित्र गर्ने र कारीले पानी दिने गर्दा उमारशक्ति बढी हुन्छ। बीउ रोपेको १५ दिनदेखि ३० दिन जतिमा सबै बिरुवा उम्रिसक्छन्। बिरुवा ४५ दिन जतिका भएपछि नर्सरी ब्याडबाट निकाली प्लाष्टिक थैलामा सार्नुपर्दछ ।

ख) बिरुवा रोपण तथा स्याहार सम्भार नर्सरीको बिरुवा १ वर्षको भएपछि रोप्न ठिक्क हुन्छ । त्यस्ता बिरुवालाई बर्षायामतिरै ६/७ मिटर अर्थात् करिब २०/२५ फिटको फरकमा रोप्ने गरिन्छ । ६० देखि १०० सेमि गहिरो र त्यतिकै लम्बाइ तथा चौडाइ भएको खाडलमा प्राङ्गारिक मल र माटोले भरी बिरुवा लगाइन्छ । यसरी रोप्दा १ हेक्टर जमिनमा करिव १०० देखि १५० वटा बिरुवा रोप्न सकिन्छ । बिरुवा सानो छँदा आवश्यकता हेरी मल र पानी दिइराख्नु पर्छ । झारपात, डढेलो तथा गाईवस्तुबाट हुनसक्ने हानि नोक्सानीबाट पनि बिरुवाहरूलाई जोगाउनु पर्छ ।

चिउरीमा फल लाग्ने अवस्था र फल सङ्कलन विधि
चिउरी रोपेको ७ देखि १० वर्षमा फल दिन थाल्छ । तर १० देखि १२ वर्षको भएपछि फल सङ्कलनको लागि अझ उपयुक्त मानिन्छ । जेठ देखि साउनसम्म फल सङ्कलन गर्न सकिन्छ । तर यसको फल र बीउबाट निरन्तर लाभ लिन यसको दिगो व्यवस्थापन गर्नु आवश्यक छ। यसको लागि चिउरीको रुखवरपरका अन्य बिरुवाहरू महत्व हेरी हटाउन वा अन्यत्र पुनर्स्थापना गर्न सकिन्छ । चिउरीलाई केही बर्षको अन्तरालमा रोगी र लामो गएका हाँगाहरूको छटनी (पुनिङ्ग) गरी यसको बोट दहिलो र रुख चढ्न सकिने गरी व्यवस्थापन गर्न सकिन्छ । चिउरीलाई फूल फुल्ने र फल्ने समयमा कुलोबाट सिंचाइ गर्न र मल दिन सकेमा उत्पादन अझ बढ्न सक्छ ।

चिउरीको फल टिप्दा सिकेचरको मद्दतले काटेर लिनु राम्रो हुन्छ । कहिले पनि हाँगा काटेर फल सङ्कलन गर्नु हुँदैन । यसो गर्दा आगामी वर्षको उत्पादन घट्दछ । आफूले लगाएको रुखबाटमात्र होइन, सरकारी वा सामुदायिक वनमा भएका चिउरीका बोटहरूबाट फल लिंदा पनि त्यसै गरी राम्रोसँग टिप्नुपर्दछ । हालको नियमअनुसार, सरकारी बनको चिउरी (बिजुला ) सङ्कलन गर्न प्रतिकिलो ३ रुपैयाँका दरले राजस्व बुझाई अनुमति लिएरमात्र टिप्नुपर्दछ ।

फल टिप्दा अपनाउनुपर्ने सुरक्षात्मक सावधानीहरू :
चिउरीको फल टिप्दा रुखबाट लड्न सकिने खतरा हुन्छ भने हाँगा काट्दा हाँगा र धारिलो हतियार खसी भुइँमा सङ्कलन गर्न बसेको मानिसलाई चोट लाग्न सक्छ । चिउरीको बोटमा भीरमौरी या अरु कीराहरु पनि हुन सक्दछन्, त्यसैले फल टिप्नुअधि राम्रो तयारी र योजना बनाएर मात्र काम गर्नुपर्छ । यसप्रकारको खतरा हुन नपाओस् भनी निम्न उपायहरू अपनाउन सकिन्छ :
• चिउरी टिप्दा कम्तीमा २ जना सँगै जाने ।
• चिउरी टिप्न रुख चढ्दा कीरा, जनावर वा मौरीको गोलो नभएको एकीन गरेर मात्र रुख चढ्ने ।
• सेफ्टी बेल्ट वा नाम्लोले शरीर अड्याएर मात्र रुख चड्ने ।
• हाँगामा जाँदा हाँगाको भारवहन ( धान्ने) क्षमता एकीन गरेर मात्र जाने ।
• आफू राम्रोसँग अडिएको निश्चित भएपछि मात्र फल टिप्न थाल्ने ।
• उपलब्ध भएसम्म भन्याङ ( सिंढी) र खुर्पेटोजस्ता साधनको प्रयोग गर्ने । • सकेसम्म सिकेचरको प्रयोगले चिउरीको झुप्पा टिप्ने ।
फल टिप्दा ठूला हाँगा नकाट्ने । हाँगा काट्नैपर्ने अवस्थामा रुखको आधा-आधा भाग गरी वर्ष बिराएर काट्ने । माथि भनेजस्तै, फल टिप्दा करिब ५ प्रतिशत फल रुखमै छाड्न नबिर्सने ।
• काटेको हाँगा, हँसिया (आँसी) अथवा सिकेचर भरेर फल सिमल्ने व्यक्ति घाइते हुन सक्छ, त्यसमा खुब ख्याल गर्ने ।
• भुइँमा बस्नेले फल डोको थापेर जम्मा गर्ने ।

फल टिपेपछि प्रशोधन गर्ने तरिका :
क) फल पकाउने परिपक्व फल टिपेर केही समय छाँयामा राखी सुख्खा अवस्थामा ल्याउने र हावा नछिर्ने गरी पराल वा मालु वा धुर्सेउलीजस्ता न्यानो राख्न मद्दत पुग्ने सामग्रीको बीचमा चिउरी राखी पकाउन सकिन्छ । फलको बाहिरी भाग प्रयोग नगर्ने र छिटो पकाउन पर्ने भए चिउरी पकाउन कहिलेकाहीं मर्चाको पनि प्रयोग गर्न सकिन्छ ।

ख) गुदी निकाल्ने र बिजुला सुकाउने यसका लागि परम्परागत विधि वा फल निचोर्ने विधि अपनाउन सकिन्छ । व्यावसायिक र ठूलो मात्रामा काम गर्दा क्रसर मेसिनको प्रयोग पनि गर्न सकिन्छ । कसर भनेको धारिला ब्लेडहरू मोटरले घुमाउने र त्यसैमा फल राखी गुदी र बियाँ अलग गर्ने साधन हो । यसबाट प्राप्त लेदोलाई धोएपछि गुदीजति अलग हुन्छ र हामीलाई चाहिएको बियाँ अर्थात् बिजुला प्राप्त हुन्छ । फलबाट गुदी हटाएपछि जाली वा चाल्नोमा राखी बिजुलालाई पानीले धोएर सफा गरिन्छ । एक अध्ययनअनुसार, एउटा राम्रोसँग हुर्केको चिउरीको बोटबाट लगभग ८० किलो फल प्राप्त हुनसक्छ र त्यसबाट गुदी अलग गर्दा करिब ३० देखि ३५ किलोसम्म बियाँ प्राप्त हुनसक्छ ।

बियाँ सुकाउने तरिका :
पानीले सफा गरेका बियाँहरूलाई घाममा ३-४ दिन जति सुकाएर यसमा रहेको पानीको मात्रा वा आर्द्रता घटाउनु पर्दछ । जडीबुटीमा सामान्यतया १२ प्रतिशतभन्दा बढी पानी भएमा त्यसमा कीरा वा चिल्सा (चिलेसा) लाग्ने वा ढुसीले सजिलै आक्रमण गर्ने हुँदा सोभन्दा कम चिस्यान कायम रहने गरी सुकाउनु पर्दछ । तर यसरी सुकाउनका लागि ( वर्षायाममा घाम राम्रोसँग नलाग्ने अवस्था भएमा अरु विकल्पहरू अपनाउनु पर्छ । यसका लागि २ तरिका छन् । पहिलो हो, हाम्रो आफ्नै परम्परागत तरिका, र दोस्रो हो, आधुनिक तरिका ।

परम्परागत तरिकाअनुसार बीउ सुकाउँदा २ तला भएको भारमा अगेना वा चुलोमाथि वा बियाँको परिमाण हेरी अलग्गै सानो भट्टी बनाई सुकाइन्छ । यसो गर्दा धुवाँको कालो लाग्न पाउँदैन । कालो बियाँलाई बजारमा राम्रो मानिँदैन । किनकि यसले गर्दा चिउरीको घिउ पनि कालो हुन सक्ने खतरा रहन्छ । यसरी भारमा सुकाउँदा ५/६ दिनसम्म समय लाग्न सक्छ ।

आधुनिक तरिकाअनुसार प्लाष्टिक वा सिलपोलिन वा सिसाले बनेको सुकाउने घर (टनेल वा 'ग्रीनहाउस') बनाई यसभित्र विभिन्न तह / खानाहरू बनाई बिजुला सुकाउन सकिन्छ । यस घरभित्र 'ग्रीनहाउस इफेक्ट' अर्थात् भित्रको ताप बाहिर नजाने अवस्था सृजना हुने हुँदा मधुरो घाम भएको समयमा पनि बिजुला सुकाउन सकिन्छ । यस प्रकारको घरको छाना पारदर्शी हुन्छ भने भित्री भाग कालो रङ्गको बनाउनु पर्दछ । यदि सुविधा छ भने बिजुलीको हिटर बालेर पनि चिउरीका बियाँ छिटो सुकाउन सकिन्छ । त्यसैगरी 'सोलार ड्रायर' को पनि प्रयोग गर्न सकिन्छ ।

सोलार ड्रायर भनेको सिसाको बाकसजस्तो एकप्रकारको आधुनिक भाँडो हो। यो तरिका किफायती, वातावरणमैत्री र गुणस्तरीय बियाँ बनाउने उपयुक्त तरिका मानिन्छ । यसलाई घाम आउने दिशातर्फ छड्के पारेर राख्न सकिने गरी बनाइएको हुन्छ । बियाँहरूलाई नकुहिने गरी राम्रोसँग भण्डार गरी राख्न माथि भने यसमा भएको पानीको मात्रा १२ प्रतिशतभन्दा कम हुने गरी) सुकाउनु पर्छ । चिउरी बियाँ उत्पादक तथा व्यापारीहरूले यो कुरालाई एकदमै ध्यान दिनुपर्छ ।

बियाँको गुणस्तर व्यवस्थापन :
गुणस्तरीय बिजुला बनाउन ग्रेडिङ्ग गर्ने, केही मिसिन नदिने र राम्रोसँग सुकाउने गर्नुपर्दछ । गुणस्तर राम्रो भएमा मूल्य पनि राम्रो आउँछ र बजारमा आफ्नो व्यावसायिक इज्जत पनि रहन्छ । आफूले उत्पादन वा सङ्कलन गरेको बिजुला गुणस्तरीय भयो कि भएन भनेर आफैं पनि जाँच्न सकिन्छ । त्यसका लागि बिजुलामा निम्न गुणहरू हुनुपर्दछ :
• एकनासका र सग्ला विजुलाहरू
• एक रङ्गका र सुनौलो रङ्गका बिजुलाहरू
· अन्य बाहिरी वस्तु नमिसिएका बिजुलाहरू
• राम्रोसँग सुकेका र पानीको मात्रा निर्धारित प्रतिशतभन्दा बढी नभएका बिजुलाहरू र
• तेल प्रतिशत पनि निर्धारित मात्रा जति भएको ।

बिजुलाको बोक्रा फाल्ने र घिउ निकाल्ने कार्य :
बिजुला बिक्री नगरी आफैँले घिउ निकाल्ने हो भने उसिनेर ढिकी वा ओखलमा फलेर बिजुलाको बोक्रा फाल्न सकिन्छ । यसरी प्राप्त हुने सेतो भागलाई 'फुलो' भन्ने चलन छ । फुलोलाई पेलेर नै तेल निकालिन्छ । फुलोलाई बाफमा तताएर (काठे) कोल वा मिलमा पेलेर वा चेपुवाबाट निचोरेर निस्केको तेल नै केही समयपछि जमेर घिउको रूप लिने भएकोले 'चिउरीको घिउ' भन्ने चलन छ ।

व्यावसायिक हिसाबले ठूलो परिमाणमा बिजुलाबाट घिउ निकाल्दा चिउरी पेल्ने मिलबाटै बिजुला प्रशोधन गरिन्छ र तेल निकालिन्छ । फुलोलाई राम्रोसँग बफाएर घिउ निकालेमा तितोपना जान्छ र घिउ प्रयोगयोग्य हुन्छ । कतैकतै बोक्रा फालेको विजुलाको फुलो सुकाएर राख्ने र पछि फुर्सदमा भुटेर पेल्ने गरेको पनि पाइन्छ । फुलो भुट्दाखेरि मन्द आगोमा र बाक्लो भाँडोमा भुट्नुपर्छ ।

विभिन्न अध्ययनले देखाएअनुसार, बिजुलाबाट ४२ देखि ४७ प्रतिशतसम्म घिउ उत्पादन हुन्छ । अर्थात् १ किलो बियाँ पेल्दा ४२० ग्रामदेखि ४७० ग्रामसम्म (करिब आधा लिटर) घिउ उत्पादन हुनसक्छ ।
चिउरीको बिजुलाबाट तेल निकालिसकेपछि बाँकी रहने फुलोको भागलाई 'पिना' भनिन्छ । यो पिनासमेत अति उपयोगी हुन्छ । पिनाबाट राम्रो कम्पोष्ट मल बन्छ । साथै कतिपय ठाउँमा विभिन्न अन्न तथा तरकारी बालीमा जैविक विषादीको रुपमा पनि यसको पिना प्रयोग गर्ने गरेको पाइएको छ ।

चिउरीको घिउको गुणस्तर बढाउने काइदा :
चिउरीको घिउमा भएको फिंज आउने पदार्थलाई 'सेपोनिन' भनिन्छ । यो तीतो हुन्छ र केही विषालु पनि हुन्छ । त्यसैले घिउलाई तीतो र विषालु हुन नदिने काइदा जान्नुपर्दछ । यसका लागि घिउलाई सफा पानीमा पकाउने अनि फिंज र पिनाका कणहरु तथा पानी छानेर फाल्ने गर्नुपर्छ । साथै घिउ खराउँदा अमिलो (निबुवा) वा कागतीका पातहरू राखेर खराउने गर्नाले पनि तेलको विषालुपना र तीतोपन हराउँछ ।

चिउरीको व्यावसायिक खेती, बजार मूल्य र बजारीकरण सब्जाल चिउरीको व्यावसायिक हिसाबले खेती गर्दा १ हेक्टरमा करिब १ हजार ३५० किलो बिजुला तथा त्यसको प्रशोधनबाट अन्दाजी ६०० किलो घिउ उत्पादन हुन्छ । बिजुलाको बजार मूल्य गुणस्तर हेरी प्रतिकिलो २५ देखि ४० रुपैयाँ रहेको छ । यसैगरी घिउको मूल्य प्रतिकिलो १३० देखि १५० रुपैयाँ रहेको छ (२०७१ साउन / भदौको मूल्य) । गुणस्तरीय बिजुला तथा घिउको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढिरहेको पाइन्छ ।

चिउरी व्यवसाय सन्जाल :
राप्ती अञ्चलका जिल्लाहरू (रुकुम, रोल्पा, दाङ, प्यूठान र सल्यान) मा चिउरीको व्यावसायिक रूपमा प्रवर्द्धन कार्यमा सहयोगी भूमिका निर्वाह गर्न हालसालै अञ्चलस्तरीय चिउरी स्रोत व्यवस्थापन तथा व्यवसायी सञ्जालको गठन भएको छ । यस सन्जालमा चिउरी सङ्कलक, व्यवसायी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू र चिउरीको उत्पादन तथा बजार व्यवस्थापनमा सहयोगी कार्यक्रमहरू सञ्चालन गर्ने सङ्घसंस्थाका प्रतिनिधिहरू समेत संलग्न छन् ।

(चिउरी खेती तथा प्रसोधन पुस्तकको सहयोगमा यो सामग्री तयार पारिएको हो)

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics