अवैध उत्खननको आरोपमा सिरहामा वडाध्यक्ष पक्राउ

सिरहा - सिरहामा अवैध उत्खननमा संलग्न रहेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।

जिल्ला डिभिजन वन कार्यालयले कर्जन्हा नगरपालिका- १ का अध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई पक्राउ गरेको हो । चुरे तथा वन क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा ऐन, कानुन विपरीत सिफारिस गरेको आरोपमा शुक्रबार साँझ उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

पुस ७ गते वनले कर्जन्हा नगरपालिका- १ बल्टियास्थित चुरे वन क्षेत्र भित्रको कमला नदीको बगरमा अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको अवस्थामा एक्स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

यसै मुद्दामा गत बिहीबार कर्जन्हा नगरपालिका-७ स्थित कमला नदी किनारमा सञ्चालित कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पनि पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा यस कार्यमा ऐन, कानुन विपरीत सिफारिस गरी सहयोग गरेको प्रमाण भेटिएपछि वडाध्यक्ष पोखरेललाई समेत पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

वडाध्यक्ष पोखरेलसहित चारै जनालाई डिभिजन वन कार्यालय लहानको हिरासतमा राखिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको वनले जनाएको छ । ktv

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics