ताप्लेजुङमा जाडो बढ्यो, लेकाली क्षेत्रका बासिन्दा बेसी झरे

ताप्लेजुङ - उच्च लेकाली क्षेत्रका बासिन्दालाई मौसमी बसाइँ सर्नुपर्ने बाध्यता छ । ठन्डी बढ्दै जाँदा न्यानो खोज्दै बस्तु भाउसहित बेँसी झर्ने र चैत लागेपछि लेकतिर उक्लिने उनीहरुको जीवनशैली नै हो ।

हिमाली जिल्ला ताप्लेजुङको लेकाली क्षेत्रका बासिन्दा पनि हिउँद लागेसँगै जाडो छल्न औलतिर झरेका छन् ।

बस्ती नै ढाकिने गरी हिउँ पर्ने हुनाले ताप्लेजुङको उच्च लेकाली क्षेत्रका विद्यालयहरु पुस, माघ र फागुन तीन महिना बन्द हुन्छन् ।

त्यसैले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा रहेको विद्यालयमा आफ्ना बालबालिकाको पढाइ बुझ्न अभिभावकहरु पुग्छन् । केटाकेटीलाई पनि सँगै लिएर औलतिर झर्नु पर्ने हुनाले अभिभावहरु उनीहरुको पढाइको प्रगति बुझ्न विद्यालयमा पुग्ने गरेका हुन् ।

फक्ताङलुङ गापा-६ का टाँसी शेर्पाले भने, ‘सरहरूले जाडो महिनाको बिदा हुन्छ भन्नुभयो त्यही भएर नानी लिन आएको ।’

घुन्सा आधारभूत विद्यालयका शिक्षक च्युमे शेर्पाले नौ महिना पुरै स्कुल लगाउने गरेको जनाउँदै जाडो तीन महिना चाहिँ बिदा दिने गरेको बताए ।

उनले भने, ‘फागुन महिना लागेपछि फेरि स्कुल सञ्चालन गर्छौं । अरुबेला पनि हामी दशैं तिहारको बीचमा स्कुल लगाउँछौं । तीन महिना मात्रै बिदा दिने गरेका छौं ।’

हरेक वर्ष हिउँदयाममा घुन्सा, फले, खम्बाछेन रोनाकलगायतका बस्तीका बासिन्दा औलतिर र्झछन् ।

चिसोले सताउने, दुख बिराम भए औषधोपचारमा समस्या हुने भएकाले औल झर्ने उनीहरु यो समय आफन्तसँगको भोटघाटका लागि पनि उपयोग गर्छन् ।

घुन्साका रैथानहरु चिसो छल्न बेँसी झर्दा प्रहरीचाहिँ बस्ती रुँगेर बस्छ । सुनसान बस्तीको सुरक्षा गर्नु आफ्नो दायित्व भएको प्रहरीको दाबी छ ।

४२ सय मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका ७ याङमा, ३१ सय मिटर उचाइको घुन्सादेखि माथिका बस्ती हिउँदमा खाली हुने गरेका छन् ।

ओलाङचुङगोला, तोक्पेगोला, पापुङलगायतको क्षेत्रका बासिन्दा पनि आंशिक रुपमा चिसो छल्न औल झर्ने गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics