मोरङमा जंगली हात्ती मृत फेला, पुच्छर छैन, गोली हानेर मारेको आशंका

मोरङ – मोरङमा सोमबार बिहान जंगली हात्ती मृत फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र हात्ती मृत फेला परेको हो ।

सब डिभिजन वन कार्यालय सलकपुरका अनुसार हात्तीलाई गोली हानेर मारेको आशंका गरिएको छ । घटनाको प्रकृति हेर्दा गोली हानेर मारेजस्तो देखिने सब डिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए ।

हात्ती मृत फेला परेको जानकारी स्थानीयले ८ः५० बजेतिर प्रहरी र वन कर्मचारीलाई गराएका थिए । त्यसलत्तगै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ । थप अनुसन्धानका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलतर्फ जाँदै छ । हाललाई घटनास्थल सुरक्षित राखिएको माझीले बताए । ‘गोली हानेर हात्तीलाई मारेजस्तो देखिन्छ । पुच्छर पनि छैन । मारेपछि पुच्छर काटेर लगेको हुनसक्छ,’ उनले भने ।

हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल देखिन्छ । माझिका अनुसार यो भाले हात्ती लगभग १२ देखि १५ वर्षसम्मको हुनसक्छ । बिहान ४ः३० बजेतिर घटनास्थल आसपासमा बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले गराएका छन् ।

घटनास्थलनजिकै सामुदायिक वनको नर्सरी छ । नर्सरीभित्र रहेका बेला हात्तीलाई गोली हानिएको अनुमान वन कर्मचारीले गरेका छन् । नर्सरीभित्रसमेत रगत लतपतिएको छ । गोली लागेपछि घस्रिदैं र रन्थनिदै तालजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि ढलेको पाइएको माझीले बताए । उनका अनुसार नर्सरी र हात्ती ढलेको ठाउँ लगभग सय मिटरजति टाढा छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु विज्ञको टोली आइपुगेपछि पोस्टमार्टम गरेर हात्तीको दासंस्कार गरिने र थप अनुसन्धान अघि बढाइने माझीले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics